Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

काठमाडौ,४ असोज ।
सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किने भएपछि मंगलबार व्यवस्थापिका–संसद्ले एकै दिन सातवटा विधेयक पारित गरेको छ । सभामुख घर्ती आज चीन भ्रमणमा जाँदै छिन् । संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीच दसैं, तिहारलगायत चाडपर्व परेका कारण मंगलबार संसद् बैठक दुईपटक बसेर विधेयकहरू पारित गरिएका हुन् ।
विदेश भ्रमणमा जाने भएपछि सभामुखले संविधान दिवसकै दिन संसद् बैठक बोलाएकी थिइन् । सांसदहरूलाई बोल्न शून्य समय र विशेष समयसमेत नदिई सभामुखले सिधै कार्यसूचीमा प्रवेश गरी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाएकी थिइन् ।
भदौ २३ गते कोरम नपुगेपछि रोकिएका थारू आयोग र मुस्लिम आयोग विधेयक मंगलबार पारित भएका छन् । सहकारी विधेयक, स्थानीय सरकार सञ्चालन विधेयक, शिक्षा (नवौंं) संशोधन विधेयक, मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको (केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने) विधेयक अनि राष्ट्रपति र उपराष्ट्रपतिको पारि श्रमिक र सुविधासम्बन्धी विधेयक पारित भएका छन् ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पनि कानुन नहुँदा उनीहरूले काम गर्न सकेका थिएनन् । संसद्को विकास समितिको प्रतिवेदनसहित स्थानीय शासन विधेयक पारित भएपछि स्थानीय सरकारलाई काम गर्न सजिलो भएको समिति सभापति रवीन्द्र अधिकारीले जानकारी दिए ।
पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कानुन अभावमा काम गर्न नपाएको गुनासो उनीहरूले गर्दै आएका थिए । संसद्को आयु सकिने बेला राष्ट्रपति–उपराष्ट्रपतिको पारि श्रमिक र सेवासम्बन्धी विधेयक पारित भएको छ भने संघीयता कार्यान्वयनका लागि थारू र मुस्लिम आयोग विधेयक पनि पारित भएका छन् । लामो समयदेखि बहसमा रहेका सहकारी विधेयक र शिक्षा संशोधन विधेयक पनि पारित भएका हुन् ।
मुलुकी ऐन प्रतिस्थापन गर्ने देवानी संहितालाई पुनः विधायन समितिमा पठाउने निर्णय भए पनि त्यससँग जोडिएको केही नेपाल कानुनलाई संशोधन, एकीकरण र खारेज गर्ने विधेयक भने पारित भएको हो । देवानी संहिता पुनः समितिमा पठाएर यही अधिवेशनबाट पारित हुने–नहुने टुंगो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed