![]()
बारा,२ असोज ।
तेस्रो चरणको स्थानीय तहको चुनावअन्तरगत आज २ नम्बर प्रदेशका आठ जिल्लामा मतदान भईरहेको छ । मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ । मतदानको सबै तयारी पूरा भएकाले मतदान गर्न निर्वाचन आयोग आह्वान गरेको छ । २ नम्बर प्रदेशको चुनावमा धेरै शीर्ष नेताहरुले पनि भाग लिँदै छन् ।
कुन नेताले कहाँका भोटर ?
माधवकुमार नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको गृह जिल्ला रौतहट हो । उनले रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रबाट मतदान गर्दै छन् ।
सीतादेवी यादव
नेपाली कांग्रेसकी कोषाअध्यक्ष सीतादेवी यादवले सिरहा नगरपालिका– १५ स्थित सुखसैना केन्द्रबाट मतदान गर्दैछिन् ।
विमलेन्द्र निधि
नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीको गृह जिल्ला धनुषा हो । उनले धनुषाको नगराइन नगरपालिका–२ को राजेश्वर उमावि केन्द्रबाट मत खसालेका छन् ।
गिरिराजमणि पोखरल
स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेल मतदानका लागि हिजो नै गृह जिल्ला महोत्तरी पुगेका थिए । उनले बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट भोट हाल्नेछन् ।
महन्थ ठाकुर
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले सर्लाही बलरा नगरपालिकाबाट मतदान गर्नेछन् ।
मातृका यादव
नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको गृह जिल्ला धनुषा हो । उनले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मतदान गर्दैछन् ।
राजेन्द्र महतो
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोको मतदाता नामावली सर्लाही जिल्लामा छ । उनले चन्द्रनगर नगरपालिका–२, जनता उमावि केन्द्रबाट मतदान गर्दैछन् ।
अनिल झा
राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले रौतहटको दुर्भाभगवती गाउँपालिकाबाट मतदान गर्दैछन् । उनको मतदान केन्द्र संस्कृत उमावि हो ।
महेन्द्रराय यादव
राष्ट्रिय जनता पार्टीका अर्का नेता महेन्द्रराय यादवको गृह जिल्ला सर्लाही हो । उनले सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थिति रामजानकी मन्द्रिर मतदान केन्द्रबाट भोट खसाल्दै छन् ।
आनन्द ढुंगाना
नेपाली कांग्रेसका नेता आनन्द ढुंगाना मतदनाका लागि गृहजिल्ला धनुषा पुगसकेका छन् । उनले धनुषाधाम नगरपालिका–१ को गोविन्दुर केन्द्रबाट भोट खसाल्दैछन् ।
सत्यनारायण मण्डल
एमाले नेता सत्यनारायण मण्डलको गृह जिल्ला सप्तरी हो । उनले सप्तकोसी नगरपालिका–११ मा रहेको बालविकास केन्द्रबाट मतदान गर्दैछन् ।
प्रभु शाह
माओवादी केन्द्रका नेता एवं शहकारी विकासमन्त्री प्रभु शाहको गृह जिल्ला पनि रौतहट हो । उनले रौतहटको मौलापुर नगरपालिका–५ को मौतापुर केन्द्रबाट भोट खसाल्दैछन् ।
शरत्सिंह भण्डरी
राष्ट्रिय जनता पार्टीका नेता शरत्सिंह भण्डरीको गृह जिल्ला महोत्तरी हो । उनले महोत्तरी औरही नगरपालिका, औरही माविबाट मतदान गर्दैछन् ।
फरमुल्ला मन्सुर
कांग्रेस नेता तथा श्रम मन्त्री फरमुल्ला मन्सुर पनि मतदानका लागि गृहजिल्ला बारा पुगिसक्नुभएको छ । उनले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर उमाविबाट मतदान गरेका छन् ।


