![]()
जनकपुर,२ असोज ।
स्थानीय तह तेस्रो चरण निर्वाचनमा आज प्रदेश नम्बर २ का सम्पुर्ण ८ जिल्लामा शान्तिपूर्ण रुपले मतदान भईरहेको छ । देशकै सिङ्गो राजनीतिमा गतिरोध उत्पन्न गरिदिने गरी आन्दोलनको केन्द्र बनेको प्रदेश नम्बर २ मा स्थानीय सरकार गठनका निम्ति मतदान भईरहेको छ । ६,६२७ पदको निम्ति चुनावी भिडन्तमा रहेका उत्रिएका करिब ३६ हजार उम्मेद्वारको भविष्यको फैसला २६ लाख ६४ हजार ९ सय ५० जना मतदाताले गर्दैछन्। देशका अन्य प्रदेशमा गठन भएका स्थानीय तहमा परिषद् भइसकेपछि अन्तिम चरण अन्तर्गत त्यहाँ मतदान भइरहेको हो।
देशमा ठूलो संख्यामा रहेका एउटा समुदायको प्रतिनिधित्व गर्ने भनिएका दलहरुको असन्तुष्टिले गर्दा पटक–पटक अन्योलमा परेको निर्वाचन हुन लागेकाले यसलाई महत्त्वका साथ हेरिएको छ। पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका कतिपय स्थानीय तहका नगर तथा गाउँसभा शुरु भइसक्दा बल्ल प्रदेश नं २ का मतदाताले स्थानीय तहका लागि जनप्रतिनिधि चुन्न पाउने अवसर प्राप्त गरेका छन् । चन्द्रपुर नगरपालिका रौतहटका मसली मियाँले विगतमा तराईमा चलेको आन्दोलन जस्तो हिंसा कहीं कतै नहोस् भन्दै मतदानमा सहभागी हुन पाउँदा निकै खुशी देखिन्थे।
विगतमा तराईको आन्दोलनसँगै नेपाल–भारत सीमा नाकामा सामान ओसारपसारमा अवरोधले थलिएको प्रदेश नम्बर २ का ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका तथा ५९ गाउँपालिकाका ३ हजार ५७८ मतदान केन्द्रमा मतदान गर्ने मतदाताको संख्या २६ लाख ६४ हजार ९ सय ५० छ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने राजपाको अडानलाई कतिपयले सकारात्मक मानेका छन्। कतिपयले त्यो अडान तराईवासीका लागि घाटा भएको बताउने गरेका छन् ।वीरगञ्ज, रौतहट, सप्तरी लगायतका स्थानमा चलेको आन्दोलनसँगै प्रदेश नम्बर २ कै कारण नेपाल–भारतबीचको सम्बन्धमा तिक्तता देखिएको कतिपयको बुझाई छ।
प्रमुख दलका नेता तथा कार्यकर्ता लगायत धेरैले राजपाको स्थानीय तहको निर्वाचनमा सहभागिताले कचल्टिएर बसेको राजनीतिक अस्थिरलाई फुकाइदिएको अर्थ्याउने गरेका छन्।


