![]()
वीरगञ्ज,१ असोज ।
प्रदेश नं. २ मा सोमबार हुने स्थानीय चुनावका लागि मौन अवधि शुरु भइसकेकाले कुनै चुनावी प्रकारको प्रचारप्रसार नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ। तर मतदातालाई प्रभावमा पार्ने उद्देश्यका साथ उम्मेदवारहरुले मौन अवधिमा पनि घरदैलोमा पुगेर मत मागिरहेको मतदाताले बताएका छन्।
प्रदेश नम्बर २ मा हुने स्थानीय तह चुनावका लागि शुक्रबार राति १२ बजदेखि असोज २ गते १२ बजेसम्म मौन अवधि तोकिएको छ।
मौन अवधि शुरु भएदेखि चुनाव नसकिएसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार लगायत कसैले पनि चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्।
तर प्रदेश नम्बर २ को पर्सा जिल्लामा मौन अवधिमा पनि उम्मेदवारहरु मत माग्न मतदाताको घरदैलोमा पुगिरहेको पाइएको छ। उम्मेदवारहरु घरदैलोमा पुगेर मतदातालाई आकर्षित पार्ने प्रयास गर्ने गरिरहेको वीरगञ्ज महानगरपालिकाका मतदाता बताउँछन्।
मौन अवधिमा प्रचारप्रसार नगर्न आयोगले सचेत गराए पनि वीरगञ्जमा राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारले घरदैलोमै पुगेर भोट मागिरहेका छन् भने कतै भोजभतेरको पनि आयोजना गरेको पाइएको छ।
त्यो कुरा निर्वाचनको अनुगमन गर्न पर्सामा निर्वाचन आयोगले खटाएको निर्वाचन अनुगमन टोलीका प्रमुख खेमराज ज्ञवालीले पनि स्वीकार गरे। उनले भनेः‘अनुगमनका क्रममा झण्डा प्रयोग गरेर मोटरसाइकल, सवारीसाधनहरु प्रयोग गरेको पाइयो। हामीले यो गर्न हुँदैन, आचासंहिता विपरीत हो भनेर उनीहरुलाई चेतावनी दिएको अवस्था छ।’
मौन अवधिमा सामाजिक सञ्जालबाट पनि चुनावको प्रचारप्रसार गर्न नपाइने भएपनि उम्मेदवार र उनीहरुका समर्थक कार्यकर्ताले भने सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दै मत मागिरहेका छन्। मौन अवधि शुरु हुनुअगावै मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामाग्री हटाउनुपर्ने भएपनि अहिलेसम्म हटाइको देखिंदैन। तर हटाउन निर्देशन दिइसकेको अनुगमन टोलीले जनाएको छ ।


