Breaking News.... EverestOnlineKhabar
June 6, 2026

प्रदेश नं.२ को स्थानीय तह निर्वाचनःमौन अवधिमा पनि दलहरुको भोजभतेर

Loading

रौतहट,१ असोज ।
असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय चुनावको मौन अवधिमा मतदाताहरुलाई भोज खुवाउन दलहरु व्यस्त रहेको देखिएको छ। मतदातालाई आफ्नो पक्षमा पार्नका लागि दलहरुबीच उनीहरुलाई भोज खुवाउने प्रतिस्पर्धा नै चलेको छ ।
शनिवार अपरान्ह रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर ७ को मुसलमान बस्तीमा पुग्दा मतदातालाई खुवाउनका लागि एउटा दलले आयोजना गरेको भोजका लागि केही मानिस कुखुरा काटिरहेका थिए ।
उक्त मुसलमान बस्तीका एकजना मतदाता मुजाहिम मन्सुरले भनेः‘अहिले यहाँ कुखुरा काटेर पकाउन चुलो बालेर पानी तताउने काम भइरहेको छ। कुनै पनि दलको भोजमा सबै मतदाता जाने गरेका छन् ।’
अर्का मतदाताका अनुसार मतदातालाई भोज खुवाउनका लागि दलहरुको प्रतिस्पर्धा चलेको छ। उनले शनिवार बिहान पनि अर्को दलको भोजको कार्यक्रम सोही स्थानमा भएको बताए।
मतदाताहरुले भोज सबैको खाइदिने तर मत भने विकासका काम गर्ने उम्मेद्वारलाई दिने बताएका छन्।
मतदाताहरुका अनुसार भित्री तराई क्षेत्रका विपन्न, दलित, मुसलमान तथा अल्पसंख्यक मतदाताहरुलाई आफ्नो पक्षमा पार्न मौन अवधिमा दलहरुले भोज चलाएका छन् ।
तर दलका नेतृत्वले भने कार्यकर्तालाई खुवाउँदा छिमेकीहरु खान आउने गरेको बताउने गरेका छन्। भोज आयोजना गरेको प्रमाण फेला नपरेका कारण दलका विरुद्ध कारबाही अगाडि बढाउन नसकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed