![]()
वीरगञ्ज,२९ भदौ ।
मधेस आन्दोलनपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट तत्कालीन मधेसी जनअधिकार फोरमबाट करिमा बेगम ठूलो मतान्तरले विजयी भइन् । क्षेत्र नम्बर २ बाट कांग्रेसका अजय द्विवेदीले फोरमका शशिकपुर मियाँलाई पराजित गरे । दोस्रो संविधानसभामा बेगम र द्विवेदी उक्त क्षेत्रमा पराजित भए । यसअघि ०५६ को संसदीय चुनावमा पर्साको १ नम्बर क्षेत्रबाट कांग्रेसका कृष्णप्रसाद भट्टराई विजयी भएका थिए ।
०५१ को मध्यावधि निर्वाचनमा २ नम्बर क्षेत्रबाट राप्रपाका राजीव पराजुलीले जितेका थिए भने ०४८ मा कांग्रेसका आत्माराम ओझा विजयी भएका थिए । यसैगरी ०४९ मा भएको स्थानीय निर्वाचनमा वीरगन्जको मेयरमा कांग्रेसका माधवलाल श्रेष्ठ र उपमेयरमा अजय द्विवेदीले विजय हासिल गरेका थिए । ०५४ मा स्वतन्त्र समूहबाट विमल श्रीवास्तव मेयर र कांग्रेसका कृष्णमुरारि रौनियार उपमेयरमा विजयी भए ।
एकपटक जितेकालाई बारम्बार दोहोर्याइरहने प्रवृत्ति यहाँ देखिएको छैन । राजनीतिक जानकारका अनुसार वीरगन्ज महानगर कुनै दल विशेषको अखडा होइन । यहाँका मतदाताले सबै दल र व्यक्तिको प्रभाव हेरी मौका दिने गरेका छन् । महानगरको चुनावी प्रक्रियालाई विभिन्न फ्याक्टरले प्रभावित पर्दै आएको राजनीतिक विश्लेषकको बुझाई छ । विश्लेषकहरु भन्छन्ः‘आन्दोलन, जातीय समीकरण, समुदायगत विभाजनले पनि मतदानमा प्रभाव पार्छ,कतिपय अवस्थामा उम्मेदवारले ल्याएको स्लोगनले पनि फरक पर्छ ।’
आर्थिक नगरी वीरगन्जमा व्यक्तित्व प्रभाव, उम्मेदवारको पैसा खर्च गर्ने क्षमता र कार्यकर्ता परिचालनले पनि तटस्थ मतदाता प्रभावित हुदै आएका छन् । एक प्राध्यापक भन्छन्ः‘मतदाता र राजनीतिक दलका चाहनाबीच एकरूपता देखिँदैन,मतदाताले जहिले पनि परिवर्तन, विकास र समृद्धि चाहेका हुन्छन् ।’
दलप्रति प्रतिबद्ध नरहेका नन पोलिटिकल मतदाताको पनि महानगरमा बाहुल्य छ जो अन्तिम अवस्थामा मात्र खुल्छन् । आर्थिक र व्यापारिक केन्द्र भएकाले जनस्तरमा राजनीतिप्रति खासै चासो देखिँदैन ।
मुलुकको कान्छो महानगरपालिका घोषणा गर्दा सरकारले पर्साको निर्वाचन क्षेत्र नम्बर १ र २ लाई गाभेको छ । १ सय ३२ दशमलव ७ वर्गकिमि क्षेत्रफल रहेको महानगरपालिकाको पूर्वमा बारा र दक्षिणमा भारतको विहार राज्यसँग सीमा जोडिएको छ । ३२ वडा रहेको महानगरमा १ लाख ८ हजार ५ सय १ मतदाता छन् । १६ गाउँका बासिन्दा बिनापूर्वाधार एकैपटक महानगरमा गाभिएका हुन् ।
असोज २ मा हुने स्थानीय चुनावमा मुलुककै लाइफ लाइन वीरगन्जको परिणाम पक्षमा पार्न दलले सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन् । बुधबार जितिया पर्वका क्रममा मेयरका एक उम्मेदवारले ठूलो संख्याका महिलालाई साडी वितरण गरे । स्रोतका अनुसार भारतबाट मगाइएका ती साडी महानगरमा हालै गाभिएका गाविस र पिछडिएका क्षेत्रमा बाँडिएको हो । तटस्थ मतदाता आकर्षित गर्न हरेक पार्टीले विभिन्न प्रलोभन दिइरहेका छन् । भत्किएका सडकमा माटो पुर्ने, चापाकल वितरण, पिछडिएका महिलालाई सिलाइ मेसिन वितरणलगायत काम हुँदै छन् ।
दलहरूको आन्तरिक विश्लेषणअनुसार त्रिपक्षीय प्रतिस्पर्धा हुने अवस्थामा महानगर जित्न २०–२२ हजार मत आवश्यक पर्छ । स्थानीय तहको प्रथम र दोस्रो चरणको मतदान ट्रेन्ड हेर्दा यहाँ करिब ७० हजार मत खस्ने देखिन्छ । मधेसमा क्रस भोटिङ प्रवृत्ति र मतदाता शिक्षा प्रभावकारी नहुँदा १५ प्रतिशत जति मत बदर हुने सम्भावना छ ।


