![]()
काठमाडौं । आफ्ना छोराको हत्यारालाई कारवाही गराउन माग गर्दै लामो समयदेखि संघर्षरत गंगामाया अधिकारीले चितवनमा दायर मुद्दालाई काठमाडौं जिल्ला अदालतमा सार्न अपील गरेकी छन् ।
चितवन जिल्ला अदालतबाट निष्पक्ष न्याय सम्पादन हुने वातावरण नभएको भन्दै उनले मुद्दा सारिपाउँ भनी पाटन उच्च अदालतमा निवेदन दिएकीछन । चितवन अदालतमा आफ्ना कानून व्यवसायीमाथि विपक्षीबाट हुलहुज्जत र धम्की दिने कार्य भैरहेकाले निष्पक्ष सुनुवाई हुनेमा उनले शंका व्यक्त गरेकीछन ।
गंगामायाले पेश गरेको निवेदनमा डरत्रास र धम्कीकै कारण चितवनका स्थानीय वकीलहरुबाट बहस हुने अवस्था नभएको, साक्षी बकपत्र हुन नसकेको उल्लेख छ ।
अधिकारीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादीका कार्यकर्ताले २०६२ साल जेठ २४ गते चितवनमा अपहरण गरी हत्या गरेका थिए । आफना छोराका हत्यारालाई कारवाही माग गर्दै अनशनरत बुवा नन्दप्रसाद अधिकारीको २०७१ साल असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको नन्दप्रसाद अधिकारीको पार्थिव शरीरको अझैसम्म दाहसंस्कार हुन सकेको छैन ।


