![]()
काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।
प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचनका लागि मतदाता परिचय बितरण गर्न लागिएको हो । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् । मतदाता परिचयपत्र लिन आफैं मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ ।
आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सहीरुपमा मतसंकेत कसरी गर्ने भन्ने विषयमा पनि जानकारी दिने व्यवस्था मिलाएको छ । निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको आयोगले जनाएको छ । मतदान गर्न सिकाउन आयोगले एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम पनि राखेको छ ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधिको चयन हुनेछन ।


