![]()
एजेन्सी,२८ भदौ ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्कटल्याण्डको क्लब सेल्टिकलाई ५–० गोलले हराएको छ । पिएसजीको जितमा नेइमारले १९ औँ मिनेटमा, एम्बाप्पेले ३४ औँ मिनेटमा, काभानिले ४० औँ र ८५ औँ मिनेटमा गोल गरे । सेल्टिकले आत्मघाती एक गोल गरेको थियो । सेल्टिकले अहिलेसम्म च्याम्पियन्स लिगमा समूह चरणको पहिलो खेल जितेको छैन । काभानी च्याम्पियन्स लिगमा पिएसजीबाट अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले पिएसजीबाट च्याम्पियन्स लिगमा २२ गोल गरेका छन् ।
खेलका दौरान सेन्टिकका डिफेन्डर एन्थनी रालस्टनले नेइमारलाई फल गरेका थिए । त्यसपछि रालस्टनले नेइमारलाई होच्याउने पारामा उनको मुखमा हेरेर हाँसेका थिए । यसबाट रिसाएका नेइमारले खेल सकिएपछि पनि उनीसँग हात मिलाएनन् । खेलमा ३–० को अग्रता रहेकै बेला रालस्टनले नेइमारलाई जिस्काएका थिए । त्यही समय स्कोर बोर्डमा हेर्दै आफूहरु ३–० ले अघि रहेको नैइमारले इसारा गरेका थिए ।
च्याम्पियन्स लिगकै अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले खेलको ४५ औँ र ६९ औँ मिनेटमा गोल गरे । यस्तै इभान र्याकिटिकले खेलको ५६ औँ मिनेटमा गोल गरे । गएको सिजनको फाइनलसम्म पुगेको युभेन्टसमाथि मंगलबार बार्सिलोना हाबी देखिएको थियो । खेलमा ६४ प्रतिशत बल बार्सिलोनाको पक्षमा थियो । पोस्टमा ७ वटा उत्कृष्ट प्रहार गरे पनि युभेन्टसले गोल गर्न भने सकेन ।
मंगलबारको गोलसँगै मेस्सीले च्याम्पियन्स लिगमा विभिन्न २७ टिमविरुद्ध गोल गरिसकेका छन् । च्याम्पियन्स लिगको समूह चरणमा सन् २००९ मा बायन मुनिखसँग ४–१ ले हारेपछि युभेन्टसको मंगलबार बार्सिलोनासँगको हार नै फराकिलो अन्तरको हार हो ।


