![]()
तनहुँ,२८ भदौ ।
तनहुँ जिल्लाको भानु न.पा.–२ भकुन्थोक स्थित श्री विश्व ज्योति प्राथमिक विद्यालयका लागि न्यासभिल नेप्लिज एसोसिएसन (एनएनए) न्यासभिल, टेनेसी, यूसयएको सहयोगमा गत वर्ष २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पले जिर्ण ६ कोठे भवन भत्काइ नयाँ ४ कोठे पक्की आरसिसि भवन निर्माण कार्य सुरु भएको छ ।
उक्त नयाँ ४ कोठे भवन निर्माणको शिलान्यास कार्यक्रम बरिष्ठ पत्रकार युबराज घिमिरे लगायत स्थानीय समाजसेवीहरुको उपस्थितीमा मिति गत साउन १८ गते सांसद तथा पूर्व बन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले गर्नुभएको थियो । यस विद्यालयको नयाँ ४ कोठे भवन निर्माणका लागि यसै संस्था एनएनए अध्यक्ष डा. घनश्याम भट्टले संस्थाको तर्फबाट अनुगमन एवं संर्वेक्षण गरी पुरानो भवन जिर्ण भएकोले स्थानीयको सहयोगमा यसको निर्माण गर्न सकिने बताउनुभएको थियो ।
तत्पश्चात विद्यालयको तर्फबाट प्र.अ. नारायणबहादुर बसेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर बाचे र अनुगमन संयोजक मेघबहादुर थापा र एनएनए संस्था बिच विद्यालयसँग दोहोरो सम्झौता गरी निर्माण कार्य अगाडि बढाईएको हो । विद्यालय भवन निर्माण सम्पन्न गर्नका लागि सात सदस्यीय निर्माण समिति र पाँच सदस्यीय अनुगमन समिति गठन गरिएको छ । अनुगमन समिति संयोजकमा मेघबहादुर थापा रहनुभएको छ ।
विद्यालयको उक्त नयाँ ४ कोठे भवन निर्माणका लागि यसै वडाको सामुदायिक वन, भानु न.पा. को कार्यालय, वडा कार्यालय, मनकामना सशस्त्र गण, भानु र स्थानीय अभिभावक समितिले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । निर्माणधीन भवनमा मनकामना सशस्त्र गण र स्थानियहरुको सहयोग उल्लेखनिय छ ।
भवन निर्माण कार्य सम्झौता भए अनुसार आगामी तीन महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल यस विद्यालयमा ९५ प्रतिशत गरिब, दलित वा विपन्न वर्गका बालबालिका अध्ययनरत छन् । उक्त भवन निर्माण कार्यले यस विद्यालयका सेवा क्षेत्रका सम्पूर्ण स्थानीय बासिन्दामा खुसी र हर्ष छाएको छ ।


