![]()
काठमाडौ,२७ भदौ ।
राष्ट्रिय गौरवको एउटा महत्त्वपूर्ण सिँचाइ आयोजनाको सुरुङ खन्नका निम्ति नेपालमा पहिलो पटक अत्याधुनिक टनेल बोरिङ मसिन (टिबिएम) ल्याइएको भेरी–बबई बहुउद्देश्यीय आयोजनाका अधिकारीहरुले बताएका छन्। उक्त आयोजनाको १२ किलोमिटर सुरुङ द्रुत गतिमा खन्नका लागि सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ कम्पनीकै लगानीमा सो यन्त्र झिकाइएको हो।
भारी र ठूलो आकारको उक्त यन्त्रलाई नेपाल–भारत सीमा नाकाबाट निर्माणस्थलसम्म ढुवानी गर्न मंगलवार राति साढे ९ बजेदेखि बुधवार बिहान ६ बजेसम्म करिब ३० किमी सडकखण्ड पूर्णरुपमा बन्द गरिने अधिकारीहरुले बताएका छन्।
ठूला आयोजनाहरुको सुरुङ निर्माणका लागि परम्परागत उपकरणको प्रयोग गर्दा धेरै जनशक्ति र समय लाग्ने भएकोले खर्च समेत बढ्ने हुनाले भेरी–बबई बहुउद्देश्यीय आयोजनाले पहिलो पटक त्यस्तो अत्याधुनिक सुरुङ खन्ने यन्त्र भित्र्याएको हो।
उक्त आयोजनाका अनुसार एकसाथ ४८ मेगावाट विद्युत् उत्पादन तथा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ। यन्त्रको चौडाई पनि हाम्रो सडकको एकतर्फी लेनभन्दा ठूलो भएकोले कोहलपुरदेखि माथि सुर्खेतको हात्तीखालसम्म मंगलवार राति ९ः३० देखि बिहान ६ बजेसम्म ३० किलोमिटरजति बाटो बन्द गरेर ढुवानी गर्ने आयोजनाका सिभिल इन्जिनियर प्रकाश पुडासैनी जानकारी दिए ।
निर्धारित समयमै उक्त लक्ष्य पूरा गर्नका लागि उक्त यन्त्र अत्यावश्यक भएकोले निर्माणस्थलको भूबनोट र चट्टानको प्रकारबारे अध्ययन गरेर डेढ अर्ब रुपैयाँको लागतमा टिबिएम निर्माण गरिएको आयोजनाका सिँचाइ विभाग अन्तर्गतका एकजना सिभिल इन्जिनियर प्रकाश पुडासैनीले बताए।
चीनको सांघाईबाट जलमार्ग हुँदै कोलकत्ता बन्दरगाहबाट उक्त यन्त्रलाई विभिन्न भागमा विभाजन गरी ५६ वटा कन्टेनरमा हालेर रुपेडिया नाकासम्म ल्याइएको बताइएको छ।
उक्त यन्त्रलाई गन्तव्यसम्म पुर्याए लगत्तै अमेरिकी र चिनियाँ विज्ञले मसिन जडान गरी काम शुरु गर्ने बताइएको छ।
बालुवा र माटोबाट बनेको नरम प्रकारको चट्टान काट्नका लागि विशेष प्रकारका कटान गर्ने साना उपकरणहरु भने निर्माणस्थलमा पुगिसकेको आयोजनाका अधिकारीले बताएका छन्। सुरुङ खन्ने जिम्मा पाएको चाईना ओभरसिज ईन्जिनियरिङ्ग कर्पोरेसनले काम सकिए लगत्तै उक्त यन्त्रलाई फिर्ता लैजाने इन्जिनियरले पुडासैनीले बताए।


