![]()
काठमाडौ,२७ भदौ ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन् ।
सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको खोजी गर्दै आएको हो । ४० वर्षीय पौडेल उम्मेदवारी मनोनयनको केही दिनअघि मात्र टिकट पाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा लडेका थिए।
पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट सांसद जितेका एक केन्द्रीयस्तरको नेताको ठाडो पहलमा टिकट पाएका उनी त्यसभन्दा पहिले नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । सीआईबीले पौडेलबाहेक राजधानीका एक चर्चित सुन डिलर रमेश खड्काको पनि खोजी गरिरहेको छ । ठँहिटीस्थित पसलबाट कारोबार गर्ने खड्काले पौडेलसँग मिलेर चिनियाँ व्यापारीबाट अवैध सुन भित्र्याउँदै आएका हुन्।
उनीहरू दुवैले नेपाल र भारतका बजारमा अवैध सुन वितरण गर्न बलियो सन्जाल बनाएको प्रहरीको दाबी छ । प्रहरीले बरामदीपछिका केही दिन दुवैको खोजीका लागि राजधानीभित्रैका आशंकित स्थानमा व्यापक निगरानी र तलासी गरे पनि फेला पर्न सकेनन् । सीआईबी स्रोतका अनुसार खड्का भारत छिर्न सफल भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १५ मा केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये १५ किलो सुनसहित ७ जना पक्राउ गरेको थियो । ती अभियुक्तले सुन तस्करका नाइके पौडेल रहेको बयान दिएलगत्तै उनी बिदामा बसेर सम्पर्कविहीन भए । उनी अहिले भारतमा रहेको ब्युरोको निष्कर्ष छ ।
ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीले सुन तस्करीमा संगठित जालो सक्रिय रहेको पाइएको र तस्करको पहिचान र पक्राउका लागि अनुसन्धान जारी रहेको बताए । उनले पक्राउ परेकाबाहेक अन्यको नाम सार्वजनिक गर्ने चरणमा अनुसन्धान नपुगेको दाबी गरे ।
सिन्धुपाल्चोक फुल्पिङकट्टीका पौडेल नेपाल ट्रक कन्टेनर व्यवसायी संघका पूर्वअध्यक्ष हुन् । उनी तातोपानी नाकामा व्यवसायमा सक्रिय थिए । भूकम्पले तातोपानी नाका बन्द भएपछि उनी केरुङमा सक्रिय थिए । उनको परिवार एमालेमा आबद्ध रहेर राजनीतिमा सक्रिय थियो । उनका दाजु धु्रव पौडेल एमालेका पूर्वगाविस अध्यक्ष हुन् । राजकुमार भने स्थानीय तह निर्वाचन मिति घोषणा भएपछि मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पहिलो चरणको निर्वाचनमा उनलाई माओवादी केन्द्रले भोटेकोसी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनायो । कांग्रेसको गढ मानिने गाउँपालिकाको अध्यक्षमा पौडेल विजयी भएका थिए ।
पौडेल परिवारका चारै दाजुभाइ तस्करीमा जोडिँदै आएका छन् । राजकुमार कान्छा हुन् । उनका दाजु बच्चु हुन्डी कारोबारमा जोडिने गरेका छन् । २०६९ भदौ ३० मा रक्त चन्दन तस्करीमा पक्राउ परेका ध्रुव पौडेल उनका अर्का दाजु हुन् । फुल्पिङकट्टीको स्यालाङकट्टी हुँदै ५० भन्दा बढी भरियालाई बोकाएर ६ टन रक्तचन्दन तातोपानी नाका पार गराउने क्रममा प्रहरी र तस्करबीच जम्काभेट हुँदा गोली चलेको थियो । प्रहरीको गोली लागेर विवेक श्रेष्ठको मृत्यु भएको थियो भने सहयोगी प्रताप तामाङ र बिर्खबहादुर श्रेष्ठ पक्राउ परेका थिए । उनीहरूको बयानका आधारमा ध्रुव सोही वर्ष कात्तिकमा पक्राउ परे ।
जिल्लामा एमालेका चल्तापुर्जा उनी पक्राउ परेको १५ दिनमै ३० हजार धरौटी बुझाएर रिहा भए । सिन्धुपाल्चोकका तत्कालीन प्रहरी प्रमुख डिएसपी प्रतापकुमार गुरुङले रक्तचन्दन तस्करीमा धु्रवको नाम आएकाले उनलाई पक्राउ गरिएको बताएका थिए । तर उनीमाथि खरखजाना मुद्दा मात्रै चलेको थियो । त्यतिबेला पक्राउ परेका सबै भरिया जेलचलान भएका थिए । गाविस अध्यक्ष हुँदा धु्रवमाथि तिब्बती नागरिकलाई नागरिकता सिफारिस गरेको अभियोग लागेको थियो ।
उनका अर्का दाजु नारायण डलर तस्करीमा पक्राउ परेर डेढ वर्ष जेल परेका थिए । प्रायः भारतमा बस्ने नारायणले उताबाट रक्तचन्दन पठाउने र नेपालमा धु्रवसहितको सेटिङमा स्थल मार्ग हुँदै खासा पु¥याउने गरेको अनुसन्धानमा खुलेको थियो ।


