Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौ,२६ भदौ ।
स्थानीय निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्षनेताको ध्यान दुई नम्बर प्रदेशमा केन्द्रित भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल मधेशमै छन् । नेपाली कांग्रेसका शीर्ष नेता पनि मधेशमै सक्रिय छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि केहि दिनमै मधेश झर्ने तयारीमा छन् । तर,एमाले अध्यक्ष केपी शर्मा ओलीको मधेस यात्रा भने अहिलेसम्म निश्चित हुन सकेको छैन।
अध्यक्ष ओलीको सचिवालयअनुसार उनी यही भदौ २८ गते दुई नम्बर प्रदेशको चुनावी यात्रामा निस्कने तयारी छ। अहिलेसम्म कहाँ–कहाँ जाने कार्यक्रम भने तय भइसकेको छैन। एमाले महासचिव ईश्वर पोखरेलले अध्यक्ष ओली मधेश झर्ने कार्यक्रम तय भइनसकेको बताए। महासचिव पोखरेलले नै दुई नम्बर प्रदेशको चुनावी तयारी संयोजन गरिरहेका छन्।
यसबीच प्रतिस्पर्धी पार्टीका शीर्षनेताले मधेस कार्यक्रम तय गरिसकेका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा मंगलबार नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालालाई लिएर मधेस झर्दैछन्। उनी मौन अवधि सुरू नभएसम्म त्यतै रहने बताइएको छ।
कांग्रेस नेता विमलेन्द्र निधि लामो समयदेखि दुई नम्बर प्रदेशमै छन्। जनकपुरमा बसेर उनले चुनावी तयारीको संयोजन गरिहेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल एक महिनादेखि दुई नम्बर प्रदेश केन्द्रित कार्यक्रममा लागिरहेका छन्। यो महिनाको अधिकांश समय उनले जनकपुरमा बिताएका छन्। हत्तपत्त साधारण कार्यक्रममा नपुग्ने अध्यक्ष दाहाल यसपटक चिया पसलमा बसेर कार्यकर्ता तथा सर्वसाधारणसँग गफिए।
यसरी प्रधानमन्त्री देउवा मधेस झर्ने कार्यक्रम तय भइसक्दा र माओवादी अध्यक्ष दाहाल मधेसमै डेरा जमाएर बस्दा अध्यक्ष ओलीको कार्यक्रम बन्न सकेको छैन। संविधान जारी भएपछि ओली मधेसविरोधी अभिव्यक्ति दिएकाले आलोचित छन्। मधेसकेन्द्रित दलहरुको तारो बनेका ओली संविधान जारी भएपछि एकपटक मात्रै जनकपुरको कार्यक्रममा पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed