![]()
काठमाडौ,२६ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनकै मुखमा औचित्यहिन मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले ५० जनाको मन्त्रिपरिषद्लाई बढाएर आइतबार ५४ सदस्यीय बनाएका हुन् । राप्रपासँग अलग्गिएर बनेको राप्रपा (प्रजातान्त्रिक) बाट तीन मन्त्री र एक राज्यमन्त्री उनले थपेका हुन् । देउवाले २०५२ सालमा आफैंले बनाएको ४८ सदस्यीय‘जम्बो मन्त्रिपरिषद्’ को रेकर्डलाई आफैंले तोडेका छन् ।
थपिएकामा दीपक बोहरालाई विज्ञान तथा प्रविधि, सुनील थापालाई उद्योग र विक्रम पाण्डेलाई वनमन्त्रीको जिम्मेवारी तोकिएको छ भने रेशम लामालाई उद्योग राज्यमन्त्री बनाइएको छ । यो विस्तारसँगै देउवा मन्त्रिपरिषद्मा मन्त्री ३० र राज्यमन्त्री २३ पुगेका छन् ।
निर्वाचन आयोगले नियुक्ति र सरुवा रोकी भदौ १५ देखि निर्वाचन आचारसंहितासमेत लगाइसकेको छ । कर्मचारी सरुवामा आचारसंहिता उल्लंघन भएको भन्दै आपत्ति जनाउने आयोग मन्त्रिपरिषद्मा तीन मन्त्री र एक मन्त्री नियुक्त हुँदा भने मौन छ । मन्त्रिपरिषद् विस्तारको जानकारी प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतल निवासमा गराइसकेको छ । सोमबार ११ बजेलाई नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम तय गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।
राष्ट्रिय जनता पार्टीको समर्थनमा कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनमा देउवा गत जेठ २४ गते प्रधानमन्त्री बनेका हुन् । त्यसमा राप्रपा (प्रजातान्त्रिक) समेत समाहित भएको हो । तीन महिनाको अवधिमा देउवाले आफ्नै मन्त्रिपरिषद् छैटौं पटक विस्तार गरेका हुन् । पछिल्लो पटक उनले भदौ ४ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।


