![]()
बिबिसि । मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको छ ।
भूकम्पबाट नराम्ररी प्रभावित टाबास्को, वाहाका र चिआपस राज्यमा उद्धार कार्यलाई अहिले केन्द्रित गरिएको छ । आपतकालीन सहायता सामग्री र उद्धार कार्यमा प्रयोग गरिने कुकुरसहित अतिरिक्त प्रहरीलाई अति प्रभावित फुचितान शहरमा परिचालन गरिएको छ । मेक्सिकोमा ८ दशमलव १ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । मृत्यु हुनेमध्ये वहाका राज्यका ७१ जना रहेको सरकारले जनाएको छ ।
अति प्रभावित फुचितान शहरका मेयरले उक्त शहर आफ्नो इतिहासमै पीडादायी अवस्थाबाट गुज्रिरहेको बताएका छन् । अधिकारीहरुका अनुसार भूकम्पमा परी करिब २०० मानिसहरु घाइते भएका छन् ।
राष्ट्रपति एनरिके पेन्या निएटोले भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा राष्ट्रिय शोकको घोषणा गरेका छन । सन् २०१५ को सेप्टेम्बरयता विश्वमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । शक्तिशाली भूकम्पको धक्का एक मिनेटसम्म महशुस गरिएको थियो ।


