![]()
सप्तरी । अशोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि चुनावी रौनक निकै छाएको छ । दल र दलका उम्मेदवारहरु चुनावी प्रचार अभियानमा व्यस्त छन भने त्यसै अनुसार सुरक्षा व्यवस्था पनि सुदृढ पारिएको छ ।
प्रदेश नम्बर २ का आठवटै जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सुरक्षा निकायले सुरक्षाको अवस्था हेरेर फरक–फरक रणनीति तय गरेको छ ।
जिल्लाका ४६२ मतदान केन्द्रमध्ये २२४ अतिसंवेदनशील र २३८ संवेदनशीलको सूचीमा राखिएको छ । यस्तै, २९५ मतदानस्थलमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखिएको छ ।
निर्वाचनमा सहभागी दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र स्वतन्त्र उम्मेदवार आआफ्नो पक्षमा मतदान गर्न घरदैलो अभियान पनि सुरु गरेका छन् ।
जिल्लामा निर्वाचन बिथोल्ने कुनै किसिमको काम हुन नदिन पूर्ण सुरक्षाका साथ लागि परेको प्रजिअ भागीरथ पाण्डेले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको बैठक बसी सुरक्षा गतिविधि बारे जिल्ला मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराइ सकिएको छ ।


