![]()
भक्तपुर । भदौ २२ गते निजामति कर्मचारी दिवसको दिन सबै सरकारी कर्मचारीलाई बिदा दिइएको छ । तर यो सुन्दा पनि अचम्म नलाग्ने भैसक्यो कि कर्मचारी दिवसकै दिनलाई केही कर्मचारीले ‘घुस खाने दिन’ का रुपमा स्थापित गराउन खोजे । एकातर्फ सरकारले उत्कृष्ट सेवा प्रदान गर्ने केही कर्मचारीलाई सम्मान गरिरहेको थियो भने अर्कोतर्फ केही कर्मचारी घुस थापेर बिदाको सुदुपयोग गरिरहेका थिए ।
कुरा हो नाप तौल बिभाग बालाजुका कर्मचारीको । उनीहरुलाई अख्तियारको टोलीले भक्तपुरको सल्लाघारीबाट नगद ५ लाख घुस लिंदै गर्दा पक्राउ गरेको छ । एक शाखा अधिकृतसहित तीन कर्मचारी अख्तियारको फन्दामा परेका हुन ।
आयोगले गुणस्तर तथा नापतौल विभागको ट्याक्सी–टेम्पो एकाईका निरीक्षक विकास धोजुसहित सोही एकाईका सहायक निरीक्षकद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पक्राउ गरेको हो । ट्याक्सी मिटर पास गर्ने नाममा उनीहरु घुस लिदै गर्दा पक्राउ परेका हुन ।
उनीहरूले ४ सय ५० ट्याक्सी मिटर पास गर्न ५ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । मिटर पास गर्न विभाग कर्मचारीले ६ लाख ७५ हजार रुपैयाँ माग गरेका थिए ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


