![]()
एजेन्सी,२१ भदौ ।
रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा रुस विश्वकपका लागि छनौटका लागि महत्वपूर्ण खेलमा लियोनल मेस्सीको टिम अर्जेन्टिना भेनेजुएलासँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जोन मुरिल्लोका गोलबाट भ्रमण टोली भेनेजुएलाले अग्रता लियो । तर त्यसको तीन मिनेटपछि अर्जेन्टिनाका लागि उपहार गोल प्राप्त भयो । भेनेजुएलाका रोल्फ फ्लेट्स्चारले आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो ।
यो खेलमा बराबरी भएपछि अर्जेन्टिनाले रुस विश्वकपमा स्थान बनाउनका लागि आउँदो महिना हुने छनौट चरणका खेलमा पनि मेहनत गर्नुपर्ने भएको छ । बराबरीपछि अर्जेन्टिना १६ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ । १० देश रहेको क्षेत्रमा शीर्ष चारमा रहने टिम विश्वकपका लागि छनौट हुने छन् भने पाँचौं स्थानमा रहने टिमले प्लेअफ खेल्नुपर्ने छ ।


