![]()
काठमाडौं । एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानबिरुद्धको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको छ । तुलनात्मक रुपमा निकै कमजोर खेल प्रदर्शन गरेको नेपालले सुरुको ३० मिनेट भित्रै २ गोल खाएको थियो ।
खेलको २५औं मिनेटमा ताजिकिस्तानले गोलको अग्रता बनाएको थियो । ताजिकिस्तानका उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गर्दा नेपाली डिफेण्डर र गोलरक्षक किरण चेम्जोङले कुनै मौका पाएनन् ।
पहिलो गोल गरेको पाँच मिनेटपछि नै ताजिकिस्तानले अर्को गोल थप्यो । अलिभले प्रहार गरेको बल किरण चेम्जोङले राम्ररी कलेक्ट गर्न नसक्दा आएको अवसरलाई भासिव दिल्सोभले सदुपयोग गरेका थिए ।
२–० ले पछि परेको नेपालले खेलको ६१औं मिनेटमा एक गोल फर्कायो । नेपालका लागि सब्सिच्युड स्ट्राइकर बिमल घर्ती मगरले गोल गरेका थिए । अञ्जन विष्टको पासमा बिमलले गोल गरेका थिए ।
खेलको अन्त्यतीर नेपालले केही राम्रा मुभ बनाएपनि त्यसलाई गोलमा बदल्न नसक्दा हार स्वीकार्नु पर्यो । नेपालका अञ्जन बिष्ट र बिमलको खेल दर्शनीय भएपनि अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन ।


