Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

सिरहा । अशोज २ गते प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै उल्लंघन गरेको पाइए कडा कारवाही गर्ने चेतावनी पनि दिएको छ । यसका लागि आयोगले प्रदेश नम्बर २ का बिभिन्न क्षेत्रमा आयोगको अनुगमन टोली पनि खटाएको छ । तर, यी सबैको कुराको वेवास्ता गर्दै राजनीतिक दल, नेता र निर्वाचनका उम्मेदवारहरुले मतदालाई प्रभावित पार्न धमाधम भोजभतेर गर्न थालेका छन । दलका नेताहरुबीच भोजभतेर गर्ने एकप्रकारको प्रतिष्पर्धा नै चलेको छ ।

बिभिन्न ठाउँमा जमघट र सभापछि भोज हुने गरेको छ । एउटा दलको उम्मेदवारले भण्डारा गरेको भोलिपल्टै अर्को दलको उम्मेदवारले भण्डारा गरेर मतदाता आफ्नो पक्षमा ल्याउन कोसिस गरिरहेका छन ।

नेताहरु आफूलाई बलियो रुपमा प्रस्तुत गर्न तडकभडकमा उत्रिएका छन् । एउटाले कुखुराको मासु खुवाउँदा अर्को दलका उम्मेदवारले उनलाई उछिन्दै खसीको मासुको भण्डारा गर्ने गरेको प्रत्यक्षदर्शी बताउँछन । लहान नगरपालिकाका एक सर्वसाधारण भन्छन, ‘यहाँ दैनिकजसो मासुभातको भोज चलिरहेको छ । ’ भोजमा बच्चादेखि वृद्धवृद्धासम्म सहभागी हुने गरेका छन ।

जनताले केही भन्दै नभनी उम्मेदवार आफैं भोज गर्न तछाडमछाड गरिरहेको सर्वसाधारण बताउँछन । साँझपख मदिरा र मासुको भोज चल्ने गरेको पनि उनीहरु बताउँछन ।

निर्वाचन आयोगले महानगरपालिकाका मेयर तथा उपमेयरका लागि साढे सात लाख रुपैयाँ खर्चको सीमा तोकेको छ । त्यस्तै, उपमहानगरपालिकाका मेयर र उपमेयरका लागि ५ लाख रुपैयाँ, नगरपालिकाका मेयर र उपमेयरका लागि ४ लाख ५० हजार, गाउँपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारका लागि ३ लाख रुपैयाँसम्मको खर्च सीमा आयोगले तोकेको छ । यस्तै, महानगरपालिकाका वडाध्यक्ष र सदस्यका लागि ३ लाख, उपमहानगरपालिकाका वडाध्यक्ष र सदस्यका लागि २ लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यका लागि २ लाख र गाउँपालिकाका अध्यक्ष र सदस्यका लागि १ लाख ५० हजार रुपैयाँसम्म खर्चको सीमा कायम गरेको छ ।

आयोगले खर्चको सीमा तोकेपनि उम्मेदवारहरु भने मतदाता फकाउन नियमित भोज, प्रचार सामग्री, सवारीसाधन, इन्धनलगायतमा मनग्य खर्च गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed