Breaking News.... EverestOnlineKhabar
June 19, 2026

दशैं तिहार र छठ लक्षित सुपथ मूल्यका पसल शुक्रवारबाट संचालनमा

Loading

काठमाडौं । सरकारले दशैं–तिहार र छठ पर्वलाई मध्यनजर गरी शुक्रवारबाट सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । हरेक बर्ष झैं सरकारले यसपटक पनि निम्नवर्गलाई लक्षित गरेर विभिन्न उपभोग्य वस्तुमा छुट अफरसहित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, दुग्ध विकास संस्थानले विभिन्न वस्तुमा छुट पनि सार्वजनिक गरेका छन् । काठमाडौं उपत्यकासहित मुलुकका झन्डै तीनदर्जन स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गरिएका छन । यसपटक सुपथ मूल्य पसलमा चामल, फापर, चिनी, पनिर, घ्यू, गेडागुडीदेखि खसी बोकासम्ममा सहुलियत दिइने आपूर्ति मन्त्रालयले जनाएको छ ।
सुपथ मूल्य पसलमा चिनीमा प्रतिकिलो ५ रुपैयाँ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिइने छ । अन्य वस्तुमा पनि न्यूनतम मुनाफा राखेर उपभोक्तालाई सस्तो दरमा उपलब्ध गराउने छ ।

सुपथ मूल्य पसलमा खाद्य संस्थानले पनि छुटको अफर गरेको छ । खाद्यले मोटो चामलमा प्रतिकिलो ५ रुपैयाँ र मसिनो बास्मती चामलमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिइने जनाएको छ । त्यस्तै, खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ र फापरको पीठोमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने संस्थानले जनाएको छ ।

आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङलाई चिनी र नुनको सहुलियतबापत १ करोड ८५ लाख रुपैयाँ र खाद्य संस्थानलाई ६० लाख रुपैयाँ बजेट सहुलियतबापत खर्च गर्न स्वीकृत दिएको छ । त्यस्तै, नेपाल आयल निगमले भने दशैं, तिहार र छठका समयमा आपूर्ति व्यवस्थामा कुनै असहजता नहुने स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed