![]()
चितवन । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस प्रजा परिषद् जस्तै हराएर जाने दावी गर्नुभएको छ ।
प्रेस चौतारीले शुक्रवार बिहान चितवनमा गरेको पत्रकार सम्मेलनका बोल्दै नेता नेपालले सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गर्दै गएकाले उसको भविष्य पनि प्रजा परिषद जस्तै हुने दावी गर्नुभयो ।
कांग्रेसले भष्टाचारीलाई निर्वाचन लड्न दिनुपर्ने पक्षमा लबिङ गर्नु लज्जास्पद विषय भएको उहाँले बताउनुभयो । नेता नेपालले भन्नुभयो, ‘ भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने प्रस्ताव दुनियालाई नै लज्जित बनाउने विषय हो, यसले कांग्रेसको साखलाई नै गिराएको छ,’ नेपालले थप अगाडि भन्नुभयो, ‘यस्तै हो भने स्वाभिमानी नेपालीहरु जो देशको प्रगति र उन्नति देख्न चाहन्छन् उनीहरु किन कांग्रेसमा बस्ने ?’
पूर्व प्रधानमन्त्री नेपालले कांग्रेस ‘आउट डेटेड’ औषधि जस्तो भएको भन्दै अब कांग्रेसले देशका लागि केही गर्न नसक्ने टिप्पणी गर्नुभयो ।
नेता नेपालले भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले लम्पसारको नमूना पेस गरेको आरोप समेत लगाउनुभयो । नेपालको आन्तरिक विषय, सार्वभौम संसदको अधिकारको विषयमा भारतलाई समेत हकदार बनाउने प्रयास भएकोमा उहाँले देउवाको आलोचना गर्नुभयो ।
निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा नेपालले भन्नुभयो, ‘जनताले सूर्यको टोपी लगाइदिए, मैले निकालेर फाल्न मिलेन, मैले पनि ठानेँ उम्मेदवारको मनोनयन पछि लगाउन नपाउने होला । ’


