![]()
काठमाडौं । भारतले प्रतिबन्ध लगाएपछि नेपालमा लामो समयदेखि अलपत्र रहेका पाँचसय र एक हजार दरका भारतीय ब्यांक नोट साट्ने प्रयास पुनः थालिने भएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली पक्षले प्रतिबन्धित नोट सटही गर्ने विषय उठाएको थियो । भारतीय अर्थमन्त्रीले दुवै पक्षले वार्ता गरी यो विषय टुंग्याउन सकिने जवाफ दिएकाले अर्थ मन्त्रालयले नोट सटहीको तयारी सुरु गरेको हो । अब फेरि राष्ट्र ब्याङ्क मार्फत नेपालमा रहेका प्रतिबन्धित भारु सटही गर्ने प्रक्रिया शुरु गरिने बताइएको छ ।
गत नोभेम्बरमा भारत सरकारले कालो धन विरुद्धको कदम भन्दै भारु पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएको थियो । उसले आफ्ना नागरिकहरुलाई गत डिसेम्बरसम्मको नोट साट्ने समयसीमा दिएको थियो । तर नेपालमा रहेको भारतीय मुद्रा के गर्ने भन्ने विषयमा भारत मौन नै रह्यो ।
त्यस यता दुई देशका केन्द्रीय ब्याङ्क र अर्थ मन्त्रालयका अधिकारीबिच थुप्रैपटक नेपाल र भारतमा छलफल भएपनि समाधान निस्कन सकेको छैन ।
तर, हालै सम्पन्न प्रधानमन्त्री देउबाको भारत भ्रमणपछि प्रतिबन्धित भारतीय नोट सटही गर्ने विषयमा पुनः वार्ता हुन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघि भारत सरकारसँगै सहमति अनुसार एक जना नेपाली नागरिकले २५ हजार भारु साथमा राख्न पाउने व्यवस्था कायम थियो । सरकारले आफ्नो ब्याङ्किङ प्रणालीमा झण्डै आठ करोड भारु रहेको बताएको छ । तर निजी क्षेत्रले नेपालमा प्रतिबन्धित भारुको मौज्दात त्यसभन्दा कैयौँ गुणा ठूलो हुनसक्ने बताउँदै आएको छ ।


