![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय महासभामा भाग लिन असोजको पहिलो साता अमेरिका जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री देउवाले महासभामा असोज ५ वा ६ मा गते सम्बोधन गर्नुहुनेछ । तेस्रो चरणको स्थानीय तह निर्वाचन पनि सम्पन्न भैसक्ने भएकाले अमेरिका जान कुनै बाधा नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल यसपटक अन्तर्राष्ट्रिय मानव अधिकार परिषदमा उम्मेदवार भएकाले प्रधानमन्त्री जानुपर्ने परराष्ट्र मन्त्रालयले बताउँदै आएको थियो ।
दुई बर्षदेखि महासभामा नेपालको प्रधानमन्त्रीस्तरमा सहभागिता नभएकाले पनि यसपटक जानुपर्ने परराष्ट्रको सुझाव थियो ।
१ सय ९३ मुलुकको उपस्थिति रहने राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायतका विषयमा बोल्नु हुनेछ । यस्तै, राष्ट्रसंघको साइडलाइनमा उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम पनि तय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाका सथामा उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा पनि रहनु हुनेछ । महरा न्युयोर्क जानु अघि चीन जानु हुनेछ । महरा आगामी साता चीन जाने तयारी छ ।
राष्ट्रसंघको महासभामा यसपटक पनि सधैं झै मानवअधिकार, शरणार्थी मामिला, दिगो विकास लक्ष्य, भूपरिवेष्ठित र अतिकम विकसित मुलुक, शान्ति निर्माण कोष, पुरातात्तिक संरचनाको संरक्षण, क्षेत्रीय शान्ति र क्षेत्रीय संगठनको उपस्थिति लगायत दर्जन बढी विषयमा छलफल हुनेछ । सबैमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री महराको सहभागि हुने कार्यक्रम छ ।


