![]()
बिबिसि । दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयवासीमा अहिले त्रास फैलिएको छ ।
गत जुलाइ महिनादेखि हराइरहेकी २५ वर्षीया जानेले लाशवेयो मान्छेको मासु खाने एउटा समूहको शिकार बनेको ठानिएको छ । सो समूहसँग सम्बद्ध भएको आशंकामा अहिलेसम्म पाँचजना पक्राउ परेका छन् । परम्परागत उपचारकले गत हप्ता प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि कुहिएको अवस्थामा लाशवेयोको शव भेटिएको थियो । ती उपचारकले मान्छेको मासु खाँदा खाँदै आफूलाई दिक्क लागिसकेको प्रहरीसमक्ष बयान दिएका छन् । शुरुमा प्रहरीले उनको कुरा पत्याएनन् ।
प्रहरीले हराइरहेकी २५ वर्षीया जानेले लाशवेयोको शव ठूला ढंगाभित्र फेला पारेको थियो ।

प्रमाणको रुपमा ती उपचारकले रक्ताम्मे हात र पैतला देखाएपछि प्रहरीले तत्काल उनलाई गिरफ्तार गिरफ्तार गर्यो । त्यसपछि उनले आफू भाडामा बस्दै आएको घरमा प्रहरी अधिकारीहरुलाई लगे, जहाँ प्रहरीले पकाउने भाँडामा मान्छेका आठवटा कान फेला पारे । उपचारकले मान्छेका कानहरु आफ्ना ग्राहकका लागि राखेको ठानिएको छ । ग्राहकहरुलाई कानमा चमत्कारी शक्ति रहेको र त्यो खाएपछि पैसा, शक्ति र सुरक्षा दिने भनिएको थियो ।
ती व्यक्तिको घरमा राखिएका सुटकेसभित्र अरु मानव अंगहरु पनि भेटाइएको थियो । झाक्रीको झुपडीमा भएका मानव अंगहरुका बीच लाशवेयोको शव र च्यातिएका लुगाहरु भेटिएका थिए । जानेले लाशवेयोको परिवारका सदस्यले निर्ममताका साथ उनको हत्या गरिएको हुनसक्ने बताएका छन । उनको परिवारका सदस्यले लाशवेयोका लुगाहरु चिनेका थिए ।
प्रहरीले लाशवेयोकै शव भएको सुनिश्चित गर्न उनका दुई वर्षीय छोरासँग डीएनए मिलाउने प्रयास भइरहेको जनाएको छ । लाशवेयोको परिवारले अझै उनको अन्तिम संस्कार गरिसकेको छैन । उपचारकको मतियार भएको आरोपमा मगुबानेका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ । मगुबानेले भने, “म निकै स्तब्ध छु कि मेरो भाइले पनि ती उपचारकका परी कथाहरुमा विश्वास र्गयो, उपचारकले उसलाई धनी बनाइदिने आश्वास दिएका थिए ।“
दुई महिनाअघि मात्रै ती उपचारक त्यहाँ सरेका थिए । जागिर खोज्दै गरेका आफ्ना भाइसहित अरु तीनजना युवालाई ती उपचारकले आफ्नो लागि काम गर्न लगाएको मगुबानेले बताएका छन् ।
उपचारकले जादु गर्नका लागि भन्दै मध्यराततिर मानिसहरुको चिहान खन्न ती युवाहरुलाई पठाउने गरेको बताइएको छ । मान्छेका मासु खाने गरेका झाक्री गत हप्ता अदालतमा उपस्थित भएपछि स्थानीय राजनीतिककर्मी थेम्बेनी माजोलाले समुदायको बैठक बोलाए । मानिसहरुलाई नडराउन सल्लाह दिँदै उनले भने, “अधिकांश स्थानीयवासी स्तब्ध छन् र अहिले डरमा बाँचिरहेका छन्।“
दक्षिण अफ्रिकी परम्परागत उपचारकहरुको संगठनकी अध्यक्ष फेप्साइल मासेकोले मान्छेको मासु खाने गरिएको कुराको निन्दा गरेकी छन । ‘मोन्योवु’ नक्कली उपचारक भएको बताउँदै उनले धनी बन्ने प्रयासमा ती व्यक्तिले आफूहरुको ‘सम्मानित पेसालाई बदनाम गरेको’ बताइन् ।
मान्छेको मासु खाने गरेको आरोप लागेका पाँच जनालाई सोमवार अदालतसमक्ष उपस्थित गराइँदा बाहिर प्रदर्शन भइरहेको थियो । उनीहरुलाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो । सेप्टेम्बर महिनाको अन्त्यतिर उनीहरुलाई पुनः अदालतमा उपस्थित गराइनेछ ।


