![]()
काठमाडौं । राप्रपा फुटेर अर्को दल राप्रपा प्रजातान्त्रिक गठन भैसकेको छ । राप्रपा फुटाउँदै वरिष्ठ नेता पशुपतिशम्शेर राणाले राप्रपा प्रजातान्त्रिक गठन गरेका हुन । यो पार्टीलाई सर्वोच्च अदालतको आदेशमा निर्वाचन आयोगले पनि मान्यता दिंदै दल दर्ता पनि भैसकेको छ तरपनि कमल थापा नेतृत्वको राप्रपाले भने यसलाइ अझै पनि मुद्दा बनाउन छाडेको छैन । असन्तुष्ट थापा पक्षले सर्वोच्चमा रिट त दायर गरेको छ नै साथमा व्यवस्थापिमा संसदको बैठकमा पनि यो विषयलाई चर्काएको छ ।
सोमबार बसेको व्यवस्थापिका संसद्को बैठकमा राप्रपाका सांसद दिलनाथ गिरीले आफनो पार्टीलाई योजनाबद्ध ढंगले बिभाजन गरिएको गुनासो पोखे ।
संसद्को दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद गिरीले सत्तारुढ दलकै प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरिएको आरोप लगाए । उनले नयाँ दल दर्ताका लागि संसद् र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनुपर्नेमा त्यसो नगरिएको र हचुवाको भरमा निर्वाचन आयोगले समेत दल दर्ता गरेको भन्दै आक्रोश व्यक्त गरे ।
सांसद गिरीले पार्टी बिभाजनको विषय प्रवेश गराउँदै सत्तापक्षलाई समेत लान्छना लगाउन थालेपछि राप्रपा प्रजातान्त्रिकका सांसदले आपत्ती जनाएका थिए । उनीहरुले नियमापत्ती गर्दै गिरीलाइ सम्बोधनमा अवरोध खडा गरेका थिए ।


