![]()
काठमाडौं । पूर्व अनुमान अनुसार भारतले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘दोक्लाम’ को विषयमा तान्न खोजेको तथ्य बाहिर आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त वक्तव्यमा ‘दोक्लाम’को विषय पनि उल्लेख गर्ने प्रस्ताव गरेका थिए । औपचारिक भेटवार्ताको अघिल्लो दिन सरप्राइज भेटको नाममा मोदीले यो प्रस्ताव गरेको खुल्न आएको छ । अकस्मात मोदीको यो प्रस्ताव आएपछि प्रधानमन्त्री देउवाले नेपालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग टेलिफोनमा कुराकानी गरेका थिए । प्रचण्डले चीन र भारतको विवादमा नपर्न सल्लाह दिएपछि देउवालाइ मोदीको प्रस्ताव अस्वीकार गर्न सहज भयो । देउवालाई नेपालका सबै राजनीतिक दल, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री एवम बिज्ञहरुले दोक्लामको विषयमा नपर्न सचेत गराएकै थिए । यो विषय संयुक्त वक्तव्यमा पारे आफनो देशभर ठूलो बिरोध हुने देउवालाइ जानकारी थियो । यही पृष्ठभूमीमा उनी मोदीले राखेको ‘दोक्लाम’ को पासोबाट उम्किन सफल भए ।
बुधवार देउवा दिल्ली पुगेको २ घण्टाभित्र भ्रमणलाई लिएर चीनको विदेश मन्त्रालयले पनि पत्रकार सम्मेलन गरेको थियो । बेइजिङले पत्रकार सम्मेलन गरेको तीन घण्टापछि भारतीय समकक्षी मोदीले आकस्मिक रुपमा देउवालाई आफ्नो निवासमा बोलाएका थिए ।
देउवाको आसन्न भारत भ्रमणभन्दा पहिले चीनका उपराष्ट्रपतिले नेपाल भ्रमण गरेका थिए । नेपाललाई दोक्लम विवादमा तान्न सक्ने आशंका पाएपछि चिनिया उपप्रधानमन्त्रीले यस्तो अवस्थामा सकभर भारत नजान गएपनि दोक्लाम विवादमा नपर्न सुझाव दिएका थिए ।


