![]()
काठमाडौं । नेकपा एमालेले अशोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाइ प्रतिष्ठाको बिषय बनाएको छ । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र राजपाले समेत एमालेलाइ मधेश बिरोधी दलका रुपमा चित्रित गरिरहेकाले प्रदेश नम्बर २ मा आफनो बलियो उपस्थिति देखाउनुपर्ने चुनौती एमालेसामु छ । एमालेले यही कुरा बुझेर प्रदेश नम्बर २ मा पार्टीको सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी मंसिर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत पनि गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउन सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
एमालेले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई पुनः आहृवान गरेको छ । लोकतन्त्रको सुदृढिकरणका लागि पनि राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी हुन आह्वान गरिएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि जनाएको छ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आगामी आइतबारसम्म दल दर्ता गर्न आह्वान गरेको छ ।


