![]()
काठमाडौ,७ भदौ ।
साउन अन्तिम साता भएको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको छ । क्षति भएको संरचना पुरानै अवस्थामा पुर्याउन ३ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अध्ययनले देखाएको सडक विभागको भनाइ छ । नेपालमा साना प्रकोपका लागि पूर्वतयारी हुने भए पनि ठूलो परिमाणको क्षति पुर्याउने प्रकोपलाई न्यूनीकरण गर्न सरकारी योजना न्यून भएकाले यति ठूलो क्षति हुने गरेको सडक विभाग, योजना तथा डिजाइन महाशाखा प्रमुख दयाकान्त झाको भनाइ छ ।
सडक इन्जिनियरहरूका अनुसार सडक मर्मत गर्न भन्दा नयाँ सडक निर्माण गर्नु सहज हुन्छ । सडक मर्मत गर्न देशभर जम्मा पाँचवटा मात्र निर्माण कम्पनी छन् । त्यसमा पनि पुल निर्माण गर्न कोही पनि चाहँदैन । किनकि यो जोखिमयुक्त हुन्छ । सडक विभागका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमेशकुमार सिंहका अनुसार नेपालमा ठाउँविशेष सडक निर्माण लागत फरक–फरक छ ।
तर, न्यूनतम तीन करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँ लागतमा एक किलोमिटर सडक निर्माण हुन्छ । पुल निर्माण कुन ठाउँमा निर्माण गर्ने, कुन डिजाइनमा निर्माण गर्नेलगायतका विषयमा यसको निर्माण लागत निर्धारण हुने गरेको छ । तर, सडक विभागका अनुसार १ मिटर पुल निर्माण गर्न औसतमा न्यूनतम १५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँ आवश्यक पर्छ ।


