![]()
काठमाडौं । नयाँ शक्ति पार्टी छाडेका देवेन्द्र पौडेलसहित झण्डै २ सय नयाँ शक्तिका नेता कार्यकर्ता आफनौ पुरानो पार्टी नेकपा माओवादी केन्द्रमा फर्किएका छन । काठमाडौंको कोटेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित पार्टी एकीकरण समारोहमा पौडेलसहित बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार पौडेल, मुक्ति प्रधान लगायतका नेता कार्यकर्तालाइ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले स्वागत गर्नुभयो ।
समारोहमा सम्बोधन गर्दै नेता पौडेलले आफनो मुल पार्टीमा फर्किन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले माओवादीबाट नयाँ शक्ति पार्टीमा लाग्नु आफनो गल्ती भएको स्वीकार गर्दै अब गल्ती सच्याएर फर्किएको धारणा राख्नुभयो । उहाँले यस्ता गल्ती अबन दोहर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
पौडेलले बृहत ध्रुविकरण संयोजन समिति निर्माण गर्दै भदौ २ गते नयाँ शक्ती पार्टी फुटाएका थिए । पौडेल नयाँ शक्ति पार्टीमा संगठन बिभाग प्रमुख हुनुुहुन्थ्यो ।
समारोहलाइ सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले पार्टी छाडेर गएका मोहन वैद्य, डा.बाबुराम भट्टराई र नेत्रबिक्रम चन्द असफल भएको बताउनुभयो । उहाँले वैद्यले सिद्धान्त बचाउन नसकेको, बाबुराम केजरीवाल बन्न खोज्दा सिद्धिएको र नेत्रबिक्रमलाइ महत्वकांक्षाले खाएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले पार्टी छाडेर गएकाहरु घाइते भइ पुनः आफ्नो पार्टीमा फर्किएकाले अब घाइतेहरु उपचार गर्दै जोडिएर अघि बढने बताउनुभयो । उहाँले आफूलाई दलाल, गद्दार र भ्रष्टाचारी भन्नेहरु नै अहिले आफैकहाँ फर्किएकाले ती आरोप झूठा थिए भन्ने प्रमाणित भएको तर्क गर्नुभयो ।
प्रचण्डले माओवादी नेता कार्यकर्ता मात्र नभइ देवेन्द्र पौडेल ब्याज र स्याजसहित लिएर माओवादीमा फर्किएकोमा प्रशंशा गर्नुभयो ।


