![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो भोलिबाट हुने भारत भ्रमणको तयारी लगभग पूरा गर्नुभएको छ । भ्रमणका दौरान आफूले उठाउनुपर्ने एजेण्डा, नेपालको सरोकारको विषय, भारतको अपेक्षा लगायत सबै विषयमा उहाँले तयारी पूरा गरिसक्नु भएको छ । यसका लागि प्रधानमन्त्री देउवाले राष्ट्रपति बिद्या भण्डारी, पूर्व प्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने प्रायः सबै दलका शीर्ष नेता, परराष्ट्र बिज्ञ लगायतसंग छलफल गरिसक्नु भएको छ । यसै सिलसिला अन्तर्गत प्रधानमन्त्री देउवाले मंगलवार पूर्व परराष्ट्र मन्त्रीहरुसंग परामर्श गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भारतसँग यसअघि भएका सहमति र सम्झौता कार्यन्वयनका लागि प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउन पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । दुई पक्षीय हितबारे भारतसँग ठूलाठूला सहमति भएपनि कार्यन्वयन नहुँदा समस्या भएको विषयमा उनीहरुले प्रधानमन्त्रीलाइ जानकारी गराएका थिए । भारतको प्रशासनिक संयन्त्रले कार्यन्वयन नगर्दा समस्या भएकाले समकक्षी नरेन्द्र मोदीसँग सो विषयमा गम्भीर ढंगले कुरा गर्न उनीहरुले सुझाव दिएका थिए ।
साथै भारतीय लगानीमा सञ्चालित आयोजना तथा सीमा व्यवस्थापन जस्ता कुरामा प्रशासनिक बाँधा हटाउन पहल गर्नुपर्ने पनि उनीहरुको सुझाव थियो ।


