![]()
दोलखा । यसपटकको बर्षाले तराई क्षेत्रमा बाढी र डुबान मात्र नभइ ठूला–ठूला आयोजना निर्माण पनि प्रभावित भएका छन । यस्को एउटा उदाहरण हो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ।
दोलखाको लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलो हुन हुन थालेको हो । डलरको भाउमा आएको उत्तारचढाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण ढिलाइ भैरहेको छ । यसले आयोजनाको लागत सात अर्ब बढ्ने अनुमान गरिएको छ ।
०७३ र ७४को असार मसान्तसम्ममा आयोजनाले ९४ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखे पनि साउन मसान्तसम्म आइपुग्दा ९१ प्रतिशत पनि काम पूरा भएको छैन । निर्माणमा ढिलाइ हुंदा ३५ अर्ब २९ करोडमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजना अब ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको छ ।
निर्माणाधीन लामोसाँघु जिरी सडक खण्ड अन्तर्गतको खाडिचौर चरिकोट खण्डमा सडक चौँडासहित स्तरोन्नतीको काम भइरहेकाले सामग्री ढुवानीमा पनि समस्या भएको छ । हाल यो सडकको विकल्पमा खुर्कोट र खिम्ती हुँदै आयोजनास्थलसम्म ढुवानीको व्यवस्था मिलाइएको छ ।
आयोजनाले मुख्य संरचना अन्तर्गत टेलरेस सुरुङ खन्ने कार्य, विद्युत गृह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्य भने गरिसकेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने काम ९३ प्रतिशत, हेडवक्स कंक्रिट कार्य ८९.५ प्रतिशत सम्पन्न भएको छ ।
आयोजनाले २०७५ असार मसान्तभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्य लिएपनि उक्त समयभित्र निर्माणकार्य सम्पन्न हुन नसक्ने जनाएकोे छ ।


