![]()
काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहकाबीच महाधिवेशनको उद्घाटन गर्नुभयो ।
समारोहमा प्रधानमन्त्री देउवाले लोकतन्त्र संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि अझै बढी जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले प्राप्त अभिव्यक्ति स्वतन्त्रतालाई बचाई राख्न सञ्चार क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सरकारका प्रवक्ता एवम् सूचना तथा संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आम संचार क्षेत्रलाई मर्यादित बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो । मन्त्री बस्नेतले लामो समयदेखि छलफल र चर्चामा रहेको कृष्णप्रसाद भट्राई संचार प्रतिष्ठान स्थापना गर्ने आफनो लक्ष्य रहेको पनि स्पष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले विभिन्न अप्ठ्याराका बाबजुत पत्रकारिता पेशालाई मर्यादित बनाउन आफू लागि परेको बताउनुभयो ।
कार्यक्रममा कृष्णप्रसाद भट्राई राष्टिय पत्रकारिता पुरस्कारबाट पत्रकार बिजयकुमार पाण्डेय र गोविन्द वियोगी राष्टिय पत्रकारिता पुरस्कारबाट पत्रकार भैरव रिसाललाई पुरस्कृत गरिएको थियो ।
दिनसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । ४५ सदस्यीय नयाँ नेतृत्व चयनका लागि देशभर र प्रवासमा समेत गरेर १ हजार ५ सय प्रतिनिधि सहभागी छन् ।
महासंघको नेतृत्व चयनका लागि भोलि मतदान हुनेछ । नेतृत्वका लागि अध्यक्षमा तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरले उम्मेदवारी दिएका छन् ।


