![]()
काठमाडौं । काठमाडौं बुढानीलकण्ठस्थित एमाले नेताको घरमा निर्वाचन आयोगका कर्मचारी मध्यरातमा फोटोसहितको मतदाता परिचयपत्र बनाउन गएको भेटिएपछि कांग्रेस सांसद गगन थापा आक्रोशित भएका छन । उनले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै यो कार्य बुढालिकण्ठ नगरपालिकाको मिलेमतोमा भएको आरोप लगाएका छन ।
संसदमा बोल्दै सांसद थापाले निर्वाचनको पवित्रतामाथि प्रश्न उठेको बताए । संसदको विशेष समय लिएर बोल्दै काठमाडौं ४ का सांसद थापाले निर्वाचन आयोगका कर्मचारी एमाले नगर सभापतिको घरमा फोटोसहितको मतदाता नामावली संकलन गर्दै गरेको भेटिएकाले यो घटनामा संलग्न सबैलाइ कारवाही गर्न माग गरे ।
तोकिएको समय सकिसकेपछि प्रमुख दलको नेताको घरमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्नु घृणित काम भएको भन्दै सांसद थापाले यसबारे प्रतिपक्षी एमालेले स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे । उनले भने, ‘सरकारी सम्पत्ति निजी व्यक्तिको घरमा लैजानु चोरी हो, अपराधीलाई कारबाही गरी निर्वाचनको पवित्रतामा विश्वासको वातावरण कसले बनाउने ? ’
मध्यरातमा आयोगका कर्मचारी एमाले नेताको घरमा पक्राउ
स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने समय शनिबार सकिएको थियो । तर, मध्यरातमा एमाले नेताको घरमा निर्वाचन कार्यालयका कर्मचारी ल्यापटपसहित नामावली संकलन गर्ने उपकरणसहित पक्राउ परेका थिए ।
जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले नामावली संकलनका लागि आकृत खत्रीलाई बुढानीलकण्ठ नगरपालिकामा खटाएको थियो । खत्रीलाई हातमा लिएर एमाले नेताहरुले रातारात आ–आफ्नो घरमै नाम संकलन गर्ने गरेको खुलासा भएपछि सांसद थापा संसदमा पड्किएका हुन । खत्री एमाले नेता अर्जुन खत्रीको भतिजा भएको खुलेको छ ।
परिचय पत्र बनाउन एमालेका बुढानीलकण्ठ नगरपालिका प्रमुख दिपक निरौलाको घरलाई अड्डा बनाइएको थियो । प्रहरीले निरौला र खत्रीसँगै बुढानीलकण्ठ ९ का वडाध्यक्ष राजेन्द्र सापकोटालाई पनि पक्राउ गरेको छ ।
बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा तालाबन्दी
घटनापछि बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । मध्यरातमा तस्वीरसहितको मतदाता नामावली संकलन गरिएको खुलेपछि एमाले बाहेकका राजनीतिक दलहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । त्यहांका सर्वसाधारणले आयोगका कर्मचारीले छुटेका खास मतदातालाइ छाडी एमाले कार्यकर्तालाइ मात्र प्राथमिकता दिएर परिचय पत्र बनाएको गुनासो गरेका छन । उनीहरुले आफनो नामावली संकलन नगरेको भन्दै बिरोध समेत प्रदर्शन समेत गरेका थिए ।
कांग्रेस र माओवादी केन्द्रले यसअघि संकलन गरिएका मतदाता नामावली खारेज गरेर पुनः मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयसंग माग गरेका छन् ।


