![]()
काठमाडौं । बाढी पहिरो र डुबानका कारण मुलुक आक्रान्त भएकाबेला सांसदहरुले भने व्यवस्थापिका संसदको बैठकमा उत्ताउलो व्यवहार प्रदर्शन गरेका छन । मुलुकमा बाढी पहिरो र डुबानले पारेको प्रभाव लगायत राहत र उद्दारका बिषयमा सत्तापक्षकै सांसदहरुबीच बोल्ने होड चलेपछि एमाले प्रस्ताव पेश गर्नबाट समेत वञ्चित भएको हो ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भीम रावलले बाढी पहिरोको समस्या दक्षिणी सीमा नजिक छिमेकी देशले तटबन्ध र बाँध निर्माण गरेका कारण विकराल बन्दै गएको भन्दै समस्या समाधान गर्न उचित एवं प्रभावकारी नीति कार्यक्रम र निर्णय गर्न तत्काल कार्य गर्न अत्यावश्यक भएको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो ।
तर त्यसभन्दा अगाडि विशेष समयमा दलीय आधारमा बोल्ने क्रममा सबै सांसदहरुले बाढीपहिरोकै विषयमा बोलेर लम्ब्याइएपछि एमालेले आपत्ति जनाएको थियो ।
एमाले सांसद भीम रावलले यसरी विशेष समयमा बोल्नुको औचित्य नभएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि सभामुख ओनसरी घर्तीले लक्ष्मी चौधरी र विश्वेन्द्र पासवान दुई जनालाई बोल्न दिई विशेष समय अन्त्य भएको घोषणा गरिन् । त्यसपछि पनि माओवादी र कांग्रेसका सांसदहरुले पनि विशेष समयमा नै बोल्न पाउनु पर्ने भन्दै होहल्ला गर्ने क्रम जारी राखे ।
सभामुखले पटक पटक बस्न आग्रह गरे पनि सत्तापक्षीय सांसदहरुले होहल्ला जारी राखेपछि बैठक आजै पुनः बस्ने गरी केही समयका लागि स्थगित गरिएको छ ।


