![]()
काठमाडौं । चीन भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न तयार भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच भएको छलफलमा चिनियाँ टोली नाका खोल्न सकारात्मक भएको हो ।
छलफलपछि नेपाल र चीनबीच तीन वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत भएको छ । नेपालपका अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौतामा हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार चीनले भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने छ । यसमा १५ अर्ब नेपाली रुपैयाँ थप सहायता आउनेछ । यो रकम अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिनेछ ।
सम्झौताको अर्को बुँदा पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गने रहेको छ । यसमा सवा २ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।
यस्तै, नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउन वातावरण बनाउने सम्वन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । यसले सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने छ ।


