![]()
बाँके । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बाढी र डुबानग्रस्त बाँकेका बिभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । स्थानीय तहका जनप्रतिनिधिलाइ प्रशिक्षण दिन देशब्यापी दौडाहमा रहेका खनाल दैलेख, सुर्खेेतहुंदै नेपालगंज पुग्नु भएको हो ।
अभियानकै दौरान बाढी पहिरो र डुबानको अवस्था सृजना भएपछि उहाँ जनताको पीर मर्का बुझन घर–घर पुग्नु भएको हो । नेता खनालले नेपालगंजको रापती सुनवारी नगरपालिकाको टिकलीपुर, शम्शेरगंज लगायतका स्थानको निरीक्षण गर्नुभयो । त्यसक्रममा उहाँले स्थानीयवासी एवम पीडितहरुसंग प्रत्यक्ष भेट गर्नुकासाथै उनीहरुको पीर, मर्का र गुनासो सुन्नुभयो ।
पीडितहरुले आफनो घर क्षतिग्रस्त हुनुकासाथै घरमा रहेको अन्नपात, लत्ताकपडा, नगद लगायतका सामान नष्ट भएको गुनासो गरेका थिए । घरमा रहेका चौपाया समेत बाढीमा परेर मरेको उनीहरुले नेता खनाललाइ सुनाए ।
सबैका कुरा सुनिसकेपछि पूर्व प्रधानमन्त्री खनालले प्रकृतिले दिएको पीडाप्रति दुःख व्यक्त गर्दै उनीहरुका समस्या तत्काल सम्बोधन हुने गरी आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनर्दन शर्मासंग कुरा गर्ने जवाफ दिनुभएको थियो । त्यसक्रममा नेता खनालले सरकारको राहत बितरण गति निकै सुस्त भएको आरोप लगाउँदै युद्धस्तरमा उद्दार र राहत बितरणको काम गर्न सरकारलाइ आग्रह गर्नुभयो ।
बाँकेको सुनवारी नगरपालिकाका मात्रै बाढीका कारण तीन सय भन्दा बढी परिवार बिस्थापित भएका छन । बिभिन्न ठाउँमा कोही पाल टाँगेर त कोही सामान्य कटेरो बनाएर बसिरहेका छन ।
प्रदेश नम्बर ६ को भ्रमणपछि नेता खनाल सोमबार नै काठमाडौं फर्किनुभएको छ ।


