![]()
काठमाडौ,२९ साउन ।
बाढी पहिरोका कारण आईतबार विहानसम्म ३७ जनाको ज्यान गएको छ । सुनसरीमा ८, मोरङमा ५, सिन्धुली र झापामा ४–४, सर्लाही, पाँचथर र बाँकेमा ३–३, बारा र दाङमा २–२, पाल्पा, बर्दिया र मकवानपुरमा एक–एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी सयौँ विस्थापित भएका छन् ।
सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्दार गर्न निर्देशन दिए पनि लगातारको झरीका कारण उद्दार कार्य कठिनाई भएको छ । तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् ।
मोरङ, सुनसरी लगायत पूर्वी क्षेत्रमा अहिलेसम्म राहत पुर्याउन नसकेको प्रहरीले जनाएको छ । सञ्चार सम्पर्क, बिजुली बत्ति र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको छ । पानी परिरहेकाले उद्दार टोली पनि प्रभावित भएका छन् । यस्तै बर्दियाका ८० प्रतिशत भन्दा बढी भूभाग डुबानमा परेका छन् । बाढीमा पानीको सतह बढिरहेकाले बाँकी क्षेत्र डुबानमा पर्ने जोखिम झनै बढेको छ ।
धुनषामा पनि चार सय घर डुबानमा परेका छन् भने एक सय घरमा क्षति भएको छ । सप्तरीमा पनि सैयौँ घर डुबानमा परेका छन् ।
देशको मध्य र पश्चिमी क्षेत्रका धेरै ठाउँमा आइतबार ठूलो पानी पर्ने मौसमविदले जनाएका छन् । पूर्वी क्षेत्रमा भने अघिल्ला केही दिनको तुलनामा केही भन्दा कम पानी पर्ने अनुमान छ ।
पूर्वी नेपालमा ठूलो पानी पारेको मनसुनी न्यूनचापीय रेखा अहिले पूर्वबाट दक्षिणतिर सरिरेहकाले आइतबार मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविदले जनाएका छन् ।
यो प्रणालीको असरले सोमबार बिहानसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।
अहिले देशभरि नै पानी पारिरहेको यो प्रणाली सोमबारसम्ममा नेपालबाट बाहिरिने भएकाले सोमबार दिउँसोदेखि भने कम पानी पर्नेछ ।
झरी तथा बाढीपहिरोका कारण धेरै ठाउँमा गाडी चल्न सकेका छैनन् । मुख्य नाका मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार दिउँसोदेखि खुलेको छैन भने पूर्वी जिल्ला जोड्ने विपी राजमार्ग पनि अबरुद्ध छ । यस्तै हेटौंडा निस्कने वैकल्पिक बाटो सिस्नेरी–फाखेल सडकखण्ड पनि अबरुद्ध छ ।
पहिरोले काठमाडौंको साँखु हुँदै सिन्धुपाल्चोक जोड्ने बाटो पनि अबरुद्ध भएको छ । नुवाकोट ओहोरदोहोेर गर्ने गाडी पनि पहिरोका कारण रोकिएका छन् । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो पन्छाएर बाटो खुलाउन समय लाग्ने भएको छ । पानी परिरहेकाले बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।


