![]()
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युतको नयाँ मूल्य निर्धारण गरेको छ ।
भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम रु ८.८८ देखि अधिकतम रु १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो । यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ मूल्य निर्धारण गरिएको छ ।
११ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु १०.३२ (भारु ६.४५), ३३ केभीमा प्रतियुनिट रु ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) तिर्नुपर्नेछ । निर्णयअनुसार ५० मेगावाट भन्दामाथि वा १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत आयात हुने विद्युत्को मूल्य नेपालका लागि सस्तो हुने भएको हो ।
भारतले यसअघि नेपाललाई उपलब्ध गराउँदै आएको विद्युत्को मूल्य प्रतिवर्ष ५.५ प्रतिशतको दरले बढाउँदै आएको थियो ।
आगामी हिउँदमा लोडसेडिङ अन्त्यका लागि सरकारले दुई अन्तरदेशीय लाइनमार्फत थप १०० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।


