![]()
काठमाडौ,२४ साउन ।
काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य नयाँ विलासी गाडीमा चढ्न पाउने भाग्यमानी मेयर बनेका छन् । उनी बाहेक महानगरका सबै मेयरले पुरो गाडी प्रयोग गरिरहेका छन् । स्थानीय तहको निर्वाचनसँगै २० वर्षपछि नागरिकले स्थानीय सरकार पाए। तर चुनिएका जनप्रतिनिधिले जनतालाई सेवासुविधाका लागि भन्दा आफ्नै लागि विलासिताका सामान खरिद गर्न बढी ध्यान दिएको भनेर अहिले आलोचना भइरहेको छ। त्यसमा पनि विशेष गरी महानगरका मेयरले चढ्ने गाडीमा आम चासो देखिन्छ।
काठमाडौं, ललितपुर, पोखरा लेखनाथ, भरतपुर र विराटनगर महानगरका मेयरमध्ये अहिलेसम्म काठमाडौंका मेयरले मात्र नयाँ गाडी किनेका छन्। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि १ करोड २० लाख पर्ने टोयोटा गाडी खरिद गरेका छन्। अरू चार महानगरका मेयरले भने पुरानै गाडीले काम चलाएका छन्। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि टोयोटा कम्पनीको प्राडो गाडी चढ्ने छिन्। यो गाडी चारवर्ष अघि एक करोड ४० लाखमा किनेको प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशीले बताए।
काठमाडौं महानगरसँगै जोडिएको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले १५ वर्ष अघि किनेको गाडी चढ्छन्। उनलाई महानगरले उपलब्ध गराएको टोयोटा र्याप २००४ मोडेलको गाडी हो। त्यही पनि अहिले बिग्रिएर बनाउन दिइएको महानगर प्रवक्ता राजु महर्जनले बताए। आफ्नो गाडी बिग्रिएपछि चिरिबाबु वारतावरण महाशाखाले दिएको टाटा गाडी चढिरहेका छन्।
पोखरालेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी पनि पुरानै गाडीले काम चलाएका छन्। पोखरा महानगरमा दुईवटा गाडी छन् तिनै गाडी पालैपालो चढ्ने गरेको जिसिले बताए। विराटनगर महानगरपालिका मेयर भिम पराजुली टोयोटा कम्पनीको ४९४ मोडलको फर्च्युनर गाडी चढ्छन्। यो गाडी नेपाल सरकार वा महानगरपालिका आफैंले किनेको भने होइन। यो एउटा परियोजनाको गाडी भएको पराजुलीका स्वकीय सचिव घनश्याम काफ्लेले बताए।


