![]()
जनकपुरधाम,२३ साउन ।
तराईका २० जिल्लामा आज धुमधामका साथ रक्षाबन्धन मनाईदैछ । दाजुभाइ दिदीबहिनीबिचको प्रेम र स्नेहको पर्वका रुपमा रक्षाबन्धन विशेषगरी मिथिलाञ्चलमा धुमधामसँग मनाइँदै छ । प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन रक्षाबन्धन पर्व मनाउने गरिन्छ ।
दिदीबहिनीहरुले दाजुभाइलाई फलफूल मिठाइलगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामना गर्दै हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँध्ने गर्दछन् ।
दाजुभाइले पनि दिदीबहिनीको जीवनमा आईपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले रुपैयाँ, कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन् । रक्षाबन्धन पर्वमा विवाहित दिदीबहिनी दाजुभाइलाई राखी बाँध्न माईत आउने गर्छन् भने माइत आउन नसक्ने चेलीको घरमा दाजु भाइ आफैं जाने गर्छन् । दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर अथवा ब्राह्मण पुरोहित तथा पण्डितहरुको हातबाट राखी बाँध्न लगाउने गरिन्छ । त्यसैगरी दाजुभाइ नभएका दिदीबहिनीले अर्कालाई दाजुभाइ मानेर राखी बाध्ने गर्छन् ।
सत्ययुगमा दैत्यराज बलीलाई देवताहरुसँगको युद्धमा जानेबेला बहिनीहरु गङ्गा र यमुनाले साउन शुक्ल पूर्णिमाका दिन खास बिधिबाट अभिमन्त्रित गरिएको डोरा बाँधी दिनाले सबै युद्धमा उनको जित भएको पौराणिक धार्मिक विश्वास रहिआएको छ ।
यस पटक नेपालमा दुई दिन रक्षाबन्धन पर्व मनाइएको छ । पञ्चांग निर्णायक समितिले पूर्णिमाको दिन चन्द्रग्रहण लाग्ने भएकाले यस वर्ष रक्षाबन्धन पर्व नागपञ्चमीको दिन श्रावण १३ गते शुक्रबार मनाउन भनेको थियो । त्यसअनुसार देशका विभिन्न स्थानहरुमा रक्षाबन्धन पर्व पञ्चमीको दिन मनाइएको थियो । तर मिथिलाञ्चलमा सनातनदेखि पूर्णिमाको दिन रक्षबाबन्धन मनाउने प्रचलन भएकालेले सोमबार मनाइएको हो ।


