![]()
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) मा अहिले तीन नेताहरुका कारण ठूलो हलचल पैदा भएको छ । नेता हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल र बृजेशकुमार गुप्ताले अध्यक्ष मण्डलका नेताहरुको कार्यशैली र दृष्टिकोणप्रति प्रश्न उठाउँदै धार नै परिवर्तन गर्ने चेतावनी दिएपछि अध्यक्ष मण्डलका सबै नेता आत्तिएका छन । त्रिपाठी समूहले पार्टी नै फुटाउन लागेको हो भन्ने डर पनि उनीहरुमा छ ।
पदाधिकारी बैठक समेत बहिष्कार गरेका त्रिपाठीसहितका नेताहरु आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा भने सहभागी भएका छन । बैठकमा बोल्दै नेता त्रिपाठीले असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनैपर्ने बताए । चुनाव बहिस्कार गरे राजपाको हैसियत समाप्त हुने चेतावनी उनले दिए ।
राजपाको हैसियत सबैले थाहा पाइसकेकाले अब अनावश्यक आन्दोलनको नाटक गर्नु भन्दा खुरुखुरु चुनावमा जाने निर्णय गर्न उहाँले आग्रह गर्नुभयो ।
नेतृत्वप्रति आक्राशित देखिएका त्रिपाठीले १, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन बहिस्कार गरेर राजपाले त्यस भेगका जनतालाई धोखा दिएको टिप्पणी गरे ।
देश चुनावमय भैसकेको भन्दै नेता त्रिपाठीले निर्वाचन बहिस्कार र विथोल्ने कुरा गर्दा राजपा नेता कार्यकर्ता र समग्र जनताको मनोबल घटने भन्दै पार्टी रहन नसक्ने अवस्थाको मुल्याङकन गर्न नेताहरुलाई सुझाव दिए ।
उनले भने ‘अहिले स्थानीय चुनाव बहिस्कार गर्नुहोला, तर प्रदेश र केन्द्रको पनि चुनाव हुदैछ त्यो चुनाव के गर्नुहुन्छ ? त्यो पनि बहिस्कार नै गर्नुभयो भने राजपा पार्टी नै रहँदैन ।


