Breaking News.... EverestOnlineKhabar
June 19, 2026

सिजनल इन्फ्लुएन्जाका बिरामी बढेसँगै स्याङ्जाका विद्यालय बन्द

Loading

स्याङ्जा । वालिङमा सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै  विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।

वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् । “भीडभाडमा हिँडडुल गर्न सबैलाई असहज परिस्थिति भएको महसुुुस गर्दै २८ गतेसम्म विद्यालय बन्द गरिएको छ”, जिल्ला शिक्षा कार्यालय स्यांजाका स्रोतव् यक्ति भरतप्रसाद बगालेले भन्नुभयो, “अहिलेको बिदालाई अन्य बिदामा कटाउने गरी जिल्ला शिक्षा कार्यालयले स्वीकृति दिएको हो ।”

यहाँका सामुदायिक विद्यालय साउन २२ गतेसम्म बर्खे बिदामा रहेकाले सामुदायिक विद्यालयमा बिदा गर्नु नपरेको बगालेले बताउनुभयो । बजार क्षेत्रमा रहेका करिब १७ संस्थागत विद्यालय साउन २८ गतेसम्मका लागि बिदा गरिएको छ ।

वालिङ तथा आसपासका क्षेत्रबाट २० जनाको रगत र घाँटी (थ्रोट स्वाब)को परीक्षण गर्दा पाँच जनामा एचवान एनवान पोजेटिभ र एक जनामा इन्फ्लुएन्जा ‘बी’ पोजेटिभ देखिएको थियो । यही साउन ९ गते एक जनाको उपचारका क्रममा निधन भएपछि वालिङ आसपासका २० जनाको नमूना संकलन गरिएको थियो ।

“छ जनालाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले नियमित सम्पर्क गरिरहेको छ”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले भन्नुभयो, “अब आत्तिनुपर्ने अवस्था छैन, छ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट प्राप्त भएको छ ।”

यस रोगबाट बच्न खोक्दा, हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोषिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर प्रवीण घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed