![]()
काठमाडौं । त्रिमूर्ति निकेतनले साहित्यकार आरडी प्रभास चटौत, अभिनेतृ भुवन थापा चन्द र कवि तुलसी दिवसलाई लेखनाथ, सम र देवकोटा पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले यो निर्णय गरेको हो ।
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि ५ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्याएवापत तुलसी दिवसलाई ‘देवकोटा काव्य पुरस्कार’ समर्पण गरिने भएको छ ।
नाटक र चलचित्रका क्षेत्रमा पूर्ण रुपमा समर्पित भई नेपालमा नाटक र चलचित्रको महिमा र गरिमालाई उत्कृष्ठताको शिखरमा पुर्याउन उद्धत भुवन थापा चन्दलाई ‘बालकृष्ण सम पुरस्कार’ समर्पण गरिने भएको छ ।
नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्याएबापत आरडी प्रभास चटौतलाई ‘लेखनाथ काव्य पुरस्कार’ समर्पण गरिने भएको छ । ताम्रपत्रका साथै यी पुरस्कारका राशि जनही पचास हजार रूपियाँ रहेका छन् ।
त्यसैगरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रहँदै २०६५ र २०६६ सालमा सम्पन्न देवकोटा शताब्दी महोत्सव तथा अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन, २०७१ सालमा सम्पन्न विश्व नारी नेपाली साहित्य सम्मेलन र २०७१ देखि ०७४ सालमा सम्पन्न सत्यमोहन जोशी शताब्दी महोत्सवको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदानका लागि यादव भट्टराईलाई त्रिमूर्ति पुरस्कार र ललिता दोषीलाई त्रिमूर्ति पदक समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्र सहित पुरस्कार र पदकको राशि पच्चीस, पच्चीस हजार रुपियाँ रहेको छ ।
त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते यी पुरस्कार राजधानी काठमाडौंमा प्रदान गरिने निकेतनले जनाएको छ ।


