Breaking News.... EverestOnlineKhabar
May 12, 2026

राजपा भित्रै चुनावमा जान तिव्र दबाब, अब के गर्ला नेतृत्वले…..?

Loading

काठमाडौ,१९ साउन ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई पार्टीभित्रै तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन दबाब परेको छ। बबरमहलमा स्थापना गरिएको नयाँ पार्टी कार्यालयमा बुधबारदेखि सुरु भएको पदाधिकारी बैठकमा बोल्ने अधिकांश सदस्यले संविधान संशोधनको परिणाम स्वीकार गरी चुनावमा जान दबाब दिएका छन्।
अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बुधबारदेखि प्रारम्भ भएको बैठकमा सहभागी १२ जना पदाधिकारीमध्ये अधिकांशले ०७२ असोज ३ मा जारी संविधानका पक्षमा ९० प्रतिशत सांसद रहेको दाबी गर्नेहरूविरुद्ध संशोधनका पक्षमा सके दुईतिहाइ अन्यथा बढीभन्दा बढी प्रतिशत मत ल्याई संविधान सर्वसम्मत नरहेको प्रमाणित गर्ने हिम्मत गर्न माग गरेका थिए।
संशोधनको खेलमा जाँदा परिणाम स्विकार्न नसक्ने नेतृत्वको आलोचना गर्दै केही पदाधिकारीले भनेका छन्ः‘ खेल खेल्न जाने तर नियम स्वीकार गर्दिनँ भन्ने नेतृत्वले मधेस र मधेसीको माग सम्बोधन गर्ने र राजपालाई बचाउने सम्भावना देखिँदैन।’
एक पदाधिकारीले भनेः‘ संशोधनको पक्षमा सके दुईतिहाइ, नसके बढीभन्दा बढी मत ल्याउनुको अर्थ सत्ता समीकरणमा गम्भीर र निर्णायक प्रभाव पार्न सक्नु हो, राजपा संशोधनको खेलमा जानैपर्छ। खेलमा गएपछि त्यसको परिणाम जे भए पनि स्विकार्नै पर्छ ।’
ती सदस्यहरूले एकै पटक शतप्रतिशत माग पूरा भएको इतिहासमा कहीँ–कतै नभएको स्मरण गराउँदै अध्यक्ष ठाकुरसहितका पदाधिकारीलाई चुनौती दिएका थिए। ‘जिम्मेवार नेतृत्वको कर्तव्य निकासविहीन आन्दोलनमा मुलुकलाई अल्झाउनु होइन। समग्र समस्याबाट अल्झेको मुलुकलाई निकास दिँदै अघि बढाउनु हो’ उनीहरूको धारणा थियो ।
संशोधन नभएसम्म चुनाव बहिष्कार भन्ने नीतिलाई कहिलेसम्म लैजाने प्रश्न गर्दै उनीहरूले अध्यक्ष मण्डलसँग जवाफ मागेका थिए।
असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनमा पार्टी निर्णयविरुद्ध प्रदेश नं. १, ५ र ७ मा उम्मेदवारी दिनेविरुद्ध कारबाही गर्न नसक्ने, नेतृत्व तहकै नेताबाट पूर्व र पश्चिमी भेलाद्वारा शीर्ष नेतृत्वका आलोचना गर्दै राजपलाई कमजोर बनाउन गरिएको षड्यन्त्रकारीविरुद्ध किन कारबाही नगरिएको भन्दै अविलम्ब कारबाही माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.