![]()
काठमाडौं । सरकारी वार्ता टोली र अनसनरत डा. गोविन्द केसीको टोलीबीच चिकित्सा शिक्षा बिधेयक पारित गर्ने विषयमा कुरा नमिलेपछि केसीको पक्षमा माहोल झन तातेको छ ।
केसीको बिग्रिदै गएको स्वास्थ्य र उनका मागका विषयमा सरकार गम्भीर नभएको भन्दै बुधवारबाट आवासिय चिकित्सकहरुले शैक्षिक गतिविधि र बहिरंग सेवा ठप्प पारेका छन । उनीहरुले शल्यक्रिया पनि बन्द गर्ने चेतावनी दिएका छन । अस्पतालमा सेवा बन्द भएपछि बिभिन्न ठाउँबाट उपचारका लागि पुगेका बिरामीहरु निराश भइ फर्कन थालेका छन ।
उता, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थीले डा. केसीको अनसनमा ऐक्यबद्धता जनाउँदै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्र्शनसहित ¥याली गरेका छन ।
नयाँ बानेश्वरमा आयोजित कोण सभामा आइओएमका स्ववियू सभापति डा. मिलन गैरेले डा. केसीले उठाएका माग विद्यार्थीको हकहीतका लागि भएको बताए । उनले चिकित्सा शिक्षा विधेयक तत्काल पास हुनुपर्ने, सम्पूर्ण पीजी कार्यक्रम निःशुल्क हुनुपर्ने र शिक्षण अस्पतालको सेवा गुणस्तरीय बनाउनु पर्ने मागमा आफूहरुको समर्थन रहेको बताए ।
डा. केसीको स्वास्थ्य र उनले उठाएका मुद्दा तत्काल सम्बोधन नभए झन कडा कदम उठाउने चेतावनी बिद्यार्थीहरुले दिएका छन ।


