![]()
काठमाडौ,१८ साउन ।
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि पठनपाठनलगायत बहिरंग विभागको उपचार सेवामा सरिक नहुने जनाएका छन् । शिक्षण अस्पतालमा करिब ३ सय ५० जना आवासीय चिकित्सक छन् । आवासीय चिकित्सकहरुको संगठन नेसनल रेजिडेन्ट डाक्टर्स एशोसिएसले प्रा.डा.गोविन्द केसीको आमरण अनसनको समर्थनमा सरकारलाई थप दबाब दिन शैक्षिक कार्यक्रमअन्तर्गत पठन पाठनमा सरिक नहुनको साथै बहिरंग विभागअन्तर्गत उपचार सेवामा सरिक नहुने जनाएको हो ।
‘ सरकारले हाम्रो विरोधलाई वास्ता नगरे डा.केसीको जीवनरक्षा गर्न शल्यक्रिया कक्ष बहिष्कारलगायत थप कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने छौं,’ एशोसिएसनका महासचिव डा.अमितकुमार यादवले भनेः‘सरकार संवेदनशील नदेखिएपछि जनहितका माग सम्बोधनको लागि हामीले गरेको भेलाले बहिरंग सेवामा उपस्थित जनाउन छोड्ने निर्णय गरिएको हो ।’ डा.केसीको आमरण अनशन मंगलबार नवौ दिनमा पुगेपछि स्वास्थ्यमा देखिन सक्ने जटिलता आदिलाई दृष्टिगत गर्दे कडा विरोध गर्न लागेका हुन् ।
आवासीय चिकित्सकहरुले डा.केसीका सबै माग गुणस्तरीय, सहज, सुलभ र सस्तो चिकित्सा शिक्षा र सेवालाई आमनेपालीको पहुँचमा पार्नेसँग सम्बन्धित भएकोले आफूहरु उनको सत्याग्रहको समर्थन गर्दै सरकारद्वारा छिटोभन्दा छिटो माग पूरा गराउन लागि परेको बताए ।


