![]()
काठमाडौ,१८ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको तयारी भइरहेको छ । प्रधानमन्त्री देउवा प्रधानमन्त्रीको रुपमा चौथोपटक भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणको लागि परराष्ट्रमन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । प्रधानमन्त्री देउवाले योपटकको भारत भ्रमणलाई मुलुकको विकासका लागि उपयोग गर्नुपर्ने परराष्ट्रविद्को सुझाव छ । गत जेठ २३ गते निर्वाचित हुनुभएका प्रधानमन्त्री देउवाको भारत भ्रमण यो कार्यकालमा पहिलो विदेश भ्रमण हुनेछ । भ्रमणकोक्रममा प्रधानमन्त्रीले मुलुकको हितमा केन्द्रित हुनुपर्ने परराष्ट्रविद्हरुको राय छ ।
नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र भएकोले भारत र पाकिस्तानबीचको विवादले सार्क सम्मेलन हुन नसकेको स्मरण गर्दै दुई मुलुकलाई मिलाएर सार्क सम्मेलनको लागि पहललाई मुख्य एजेन्डा बनाउनुपर्ने परराष्ट्रविद्को सुझाव छ । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भनेः‘नेपाल र भारतबीचको सम्बन्धमा पछिल्लो समय देखिएको समस्या समाधान भ्रमणको मुख्य एजेन्डा हुुनुपर्छ ।’
हुन त प्रधानमन्त्री देउवाले यसअघिको प्रधानमन्त्रीको कार्यकालमा पनि तीनपटक भारतको भ्रमण गरिसकेका छन् । तर, अहिले प्रधानमन्त्री देउवा फरक परिस्थिति र परिवेशमा छिमेकीमुलुक भारतको भ्रमण गर्दैछन् । अहिले दुई छिमेकीमुलुक भारत र चीनबीच तनावको अवस्था छ । भारतका लागि नेपालका राजदुत समेत रहनुभएका पूर्वराजदुत एंव परराष्ट्रविद् दुर्गेशमान सिंहले भनेः‘यस्तो अवस्थामा दुई छिमेकीमुलुकमध्ये कुनै एकको पक्ष र विपक्ष नलिइ तटस्थताको भूमिका निर्वाह गर्नुपर्छ ।’
सरोकारवालाहरुले सस्तो लोकप्रियता र क्षणिक स्थार्थको लागि छिमेकीमुलुकसँग सम्झौता गर्ने प्रवृतिका कारण विगतमा मुलुकको स्वाभिमान कमजोर भएको जनाएका छन् ।


