![]()
काठमाडौ,१६ साउन ।
भरतपुर–१९ मा पुनः मतदान गराउन सर्वोच्च अदालतको फैसलालाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुर्भाग्यपूर्ण भएको बताएको छ। सर्वोच्चको फैसलापछि एमाले सचिव प्रदीप ज्ञवालीले भनेः‘यस विषयमा हाम्रो पार्टीको औपचारिक धारणा त आइसकेको छैन तर यो दुर्भाग्यपूर्ण हो। यसले अपराधिक मनोवृत्तिलाई वैधता दिएको छ।’
सचिव ज्ञवालीले चुनावमा हारजित स्वभाविक भए पनि आफूले जसरी पनि जित्नै पर्ने नियतका साथ मतपत्र च्यातिएको र सो नियतलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले सदर गरिदिएको बताए। उनले अगाडी भनेः‘ चुनावमा हार्नु त हाम्रा लागि ठूलो कुरो होइन तर जुन तरिकाले यो दुर्भाग्यपूर्ण फैसला आएको छ, यसको जवाफ हामी अब जनमतबाट दिन्छौं ।’
२ महिना अघि भरतपुर महानगरमा मतगणना भइरहेका बेला मतपत्र च्यातिएको थियो। सो विषयमा सर्वोच्चमा परेको मुद्दामा आईतबार न्यायाधीशद्धय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको संयुक्त इजलासले उक्त वडामा पुनः मतदान गराउन आदेश दिएको हो।


