![]()
काठमाडौंं । सरकारमा जान उपप्रधानमन्त्रीसहित सम्मानजनक स्थानका लागि मोलमलाइ गरिरहेको राप्रपाले आफूले भने जस्तो नभएपछि अन्ततः सरकारमा नजाने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय १९ मन्त्री थप्दा राप्रपालाइ वेवास्ता गरेको भन्दै वार्ता टोली नै भंग गरेका अध्यक्ष कमल थापाले शुक्रवार सरकारमा नै सहभागी नहुने निर्णय गरेका हुन ।
राजधानीको धुम्वाराहीस्थित पार्टी कार्यालयमा बसेको पदाधीकारी बैठकले आफुहरुको सहभागिता विना नै मन्त्री मण्डल विस्तार गरिएको भन्दै सत्तामा जाने अध्याय समाप्त भएको घोषणा गरेको हो ।
राप्रपाले वर्तमान सरकार मधेशको समस्या समाधान गर्न र संविधान कार्यान्वयन गर्न गम्भीर नदेखिएको निश्कर्ष समेत निकालेको छ ।
पदाधिकारी बैठकले प्रदेश स्तरीय अधिवेशनको स्थान पनि तय गरेको छ । १ नम्बर प्रदेशको झापामा, ३ नम्बरको हेटौंडा, ४ नम्बरको पोखरा, ५ नम्बरको नेपालगञ्ज, ६ नम्बरको सुर्खेत र ७ नम्बर प्रदेशको कञ्चनपुरमा आगामी भदौ महिनाभित्र अधिवेशन गर्ने निर्णय गरेको छ ।
दुई नम्बर प्रदेशमा भने स्थानीय तहको निर्वाचन भएपछि मात्र अधिवेशन गर्ने राप्रपाले जनाएको छ ।


